• २५ पुस २०८१, बिहिबार

लुम्बिनीको दान रकम गणना, एक करोडभन्दा बढी सङ्कलन

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर,पुस २४ गते । बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपियाँ सङ्कलन भएको छ।

आर्थिक वर्ष २०८१-०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । 

पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको रकम गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो । उहाँले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको जानकारी दिनुभयाे । 

दानपेटिकामा सङ्कलित दान रकमलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुले श्रद्धाले दान चढाउँछन् । दानवापत सङ्कलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।