गोविन्द शर्मा
बाँके, पुस २४ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनेगरी भूमिका बढाउन सम्बद्ध सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।
प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राख्नुभएको हो ।
विश्व विद्यालयको छैठौं सभा बैठकलाई बुधबार नेपालगन्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । बिश्वबिद्यालयका कुलपती समेत रहनुभएका मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सिर्जना गर्न चाहन्छ । युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामी सबै गम्भीर भएर अघि बढ्न जरुरी छ ।’
प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्पसहित विश्वविद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई कामसँग जोड्नै पर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’
विश्वविद्यालयका कुलपति मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी गराउनुभयो । विश्व विद्यालयको बैठकमा आर्थिक बर्ष २०८० र ८१ को बार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयमा छलफल भएको उपकुलपति प्राडा. बिनोद ढकालले जानकारी दिनुभयो ।