बोमलाल गिरी
नवलपुर, पुस २४ गते । जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणीपीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ । बिहीबार र शुक्रबार दुई वटा डोजरले खनेर नारायणीको बहाव परिवर्तन गराउने प्रयास गरेकोमा नदीपीडितले अवरोध गरेपछि तत्काललाई काम रोकिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिनुभयो ।
२०५८ सालमा नारायणीमा आएको बाढीले पीडित बनाएकाले अहिलेसम्म राहत नपाएको र अहिले नदीको धार परिवर्तन गराउँदा वर्षामा फेरि बाढीको जोखिम हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका हुन् । अदालतले समेत राहत दिन आदेश दिइसकेकाले सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्ने, वर्षामा बाढी पस्न नसक्ने गरी तटबन्ध निर्माण गर्नुपर्ने र नारायणीलाई साबिककै धारमा बगाउनुपर्ने माग गरेका छन् ।
देवचुली नगरपालिका–१७ का नारायणीपीडित नारायण थनेतले तत्काल आफूहरूलाई राहत दिनुपर्ने र राहत दिन नसक्ने हो भने नदीलाई साबिककै स्थानबाट बग्ने गरी धार परिवर्तन गराउनुपर्ने बताउनुभयो । साबिक नारायणी देवचुलीको पिप्रहरपारिको भँगालोबाट बगेको थियो । त्यसो गर्दा वर्षामा थप क्षति हुन नसक्ने थनेतले बताउनुभयो । २०५८ सालमा नारायणी नदीमा आएको बाढीले एक सय बिघाभन्दा बढी नम्बरी जग्गा बगरमा परिणत गरेको तर अहिलेसम्म क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ । पिप्रहरका स्थानीयको मात्रै ६० बिघा जमिन नारायणीले बगर बनाइदिएको छ । नारायणीलाई साबिककै ठाउँबाट बगाउन नसके वर्षाको समयमा फेरि क्षति बेहोर्नुपर्ने पिठौली मौजा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कँडेलले बताउनुभयो । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले यो विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र) मा पानीको बहाव धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।
उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताउनुभयो ।
नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भँगालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भँगालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेको देखिन्छ । नारायणीको उत्तरी भँगालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् ।