• १८ असार २०८१, मङ्गलबार

‘धुलिखेललाई गरिबविहीन नगरपालिका घोषणा गर्छौं’

blog

बनेपा, जेठ १० गते । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोककुमार ब्याञ्जू दोस्रो कार्यकालका लागि काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ । ब्याञ्जूले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालमा सुरु गरेका अधूरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ब्याञ्जूले दुई वर्षको अवधिमा धुलिखेल नगरपालिकालाई गरिब नभएको नगरपालिकाका रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

“हामी २०७४ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि भएर आउँदा नगरपालिकाभित्र गरिबीको रेखामुनिको सङ्ख्या १३ प्रतिशत रहेको थियो, हामीले पाँच वर्षसम्म उहाँहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम अघि बढायौँ, अहिले नगरभित्र गरिबीको रेखामुनिको जनसङ्ख्या घटेर ४ दशमलव ३६ प्रतिशत छ,” ब्याञ्जूले थप्नुभयो । 

उहाँले नगरपालिकाले अबको दुई वर्षमा धुलिखेलमा गरिबीको रेखामुनिको जनसङ्ख्या नभएको नगरपालिका घोषणा गर्नका लागि विभिन्न कार्यक्रम अघि बढाउने बताउनुभयो । उहाँले ‘मेयर गरिबी निवारण कोष’ अन्तर्गत पहिलो कार्यकालमा नगरभित्रका करिब एघार सय नागरिकलाई सीपमूलक तालिम प्रदान गरी उनीहरूको आयआर्जनमा सहयोग पु-याउन गरिबीको सङ्ख्या कम गर्न सफल भएको बताउनुभयो । 

नगरप्रमुख ब्याञ्जूले धुलिखेललाई पार्कहरूको सहर बनाउने अभियानअन्तर्गत पहिलो कार्यकालमा पृथ्वीनारायण, बलभद्र कुँवरको सालिकसहितको पार्क, बखुण्डोल बुद्ध पार्क, बीपी राजमार्गको काभ्रे भन्ज्याङमा मदन भण्डारीको सालिकसहित गरी नगरभित्र ५३ वटा पार्क निर्माण गरिएको बताउँदै आगामी दिनमा पार्क निर्माण गरी देशकै सबैभन्दा बढी पार्क भएको सहर बनाउने सुनाउनुभयो । 

“हाल धुलिखेल नगरपालिकाको ८९ प्रतिशत घरधुरीमा ‘एक घर, एक धारा’ पु-याउन सफल भएका छौँ, यो पाँच वर्षको अवधिमा नगरभित्रका शतप्रतिशत घरधुरीमा ‘एक घर, एक धारा’ को अवधारणाअनुरूप स्वच्छ खानेपानी पु-याउने छौँ,” उहाँले थप्नुभयो । “सरकारले सन् २०३० भित्र दिगो विकासका लक्ष्य पूरा गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ, हामी सरकारभन्दा पहिले नै ती लक्ष्य पूरा गर्ने गरी अघि बढेका छौँ, हामी अबको पाँच वर्षको अवधिमा बाँकी रहेका लक्ष्य पूरा गर्नेछौँ,” प्रमुख ब्याञ्जूले भन्नुभयो । 

ब्याञ्जूले नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रमुख पर्यटकीय गन्तव्य बनाउन तारे होटल सञ्चालन गर्न निजी क्षेत्रलाई उत्प्रेरित गर्ने, नगरकोटदेखि नमोबुद्धसम्म पर्यटकीय पदमार्ग निर्माण, बैङ्किङ पहुँच नभएका अतिविपन्न गरिब परिवारले बैङ्कमा खाता खोलेमा सय रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने, धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीलाई स्नातकसम्म र अपाङ्गता भएका नागरिकलाई स्नातकोत्तर अध्ययनका लागि निःशुल्क गर्ने योजना रहेको बताउनुभयो ।

Author

केदार तिमल्सिना