काठमाडौँ, पुस २३ गते। चीन, भारत लगायत देशमा पछिल्लो समय फैलिएको रुघाखोकीसँग सम्बन्धित ह्युमन मेटान्युमो (एचएमपिभी) भाइरस तिव्र गतिमा फैलिरेहको छ।
छिमेकी देश चीन र भारतमा तीव्र गतिमा पुष्टि भइसकेकोले नेपालमा पनि कोरोना भाइरसजस्तै महामारीको अवस्था सिर्जना हुने त होइन भन्ने धेरैले आशङ्का छ। यो भाइरस पुरानो नै भएकाले नआतिन चिकित्सकको सुझाव छ।
यो भाइरस मानवमा सन् २००१ मा नै पुष्टि भइसकेको चिकित्सक बताउछन्। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मेटान्युमोभाइरस सामान्य प्रकारको भाइरस हो। यसले श्वासप्रश्वास प्रणालीलाई सङ्क्रमित गर्छ।
उहाँ भन्नुहुन्छ, “एचएमपिभि भाइरस श्वासप्रश्वास सम्बन्धी सामान्य भाइरस हो। यो भाइरस मौसमी फ्लुजस्तै हो। नेपालमा पहिलेदेखि नै यो भाइरस पुष्टि हुँदै आएको छ।”
पाँच प्रतिशत नवजात शिशुमा यो भाइरस पुष्टि हुने अध्ययनले देखाएको छ। यो भाइरसले धेरै जस्तो १४ वर्ष मुनिका बालबालिकालाई बढी प्रभावित गर्ने सरुवारोग विशेषज्ञ डा.पुन बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “यो भाइरस नेपालका लागि नयाँ होइन। नेपालमा पहिले नै पुष्टि भइसकेको छ। यो भाइरसले १४ वर्ष मुनिका बालबालिकालाई बढी दुःख दिने गर्छ।”
यो भाइरस सबै उमेरका मानिसमा देखिने भए पनि बालबालिका, वृद्धवृद्धा र प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा गम्भीर समस्या निम्तने डा. पुन बताउनुहुन्छ।
एचएमपिभी भाइरस जाडो महिनामा बढी सक्रिय हुन्छ। हरेक वर्ष जाडो महिनामा यो भाइरस पुष्टि हुँदै आएको छ। उहाँ भन्नुहुन्छ, “हाल चीन र भारतमा पुष्टि भएको एचएमपिभी भाइरस कति घातक छ भनेर भनेर अध्ययनपछि मात्र थाहा हुन्छ। तर, हाल फैलिरहेको भाइरस पहिलेनै पुष्टि भएको भाइरस भन्ने आएको छ।” पहिले देखिनै पुष्टि भएको भाइरस घातक नभएकाले आतिहाल्नु पर्दैन।
डा. पुनका अनुसार ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने यो भाइरसकका प्रमुख लक्षण हुन्। यो सङ्क्रमणले ब्रोंकाइटिस, निमोनिया, वा दमसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ। सामान्य तय यो भाइरस तीनदेखि सात दिनसम्म रहन्छ ।
यो भाइरस खोक्दा, हाच्छ्युँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ। यो भाइरसले रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धालाई बढी असर पार्ने भएकाले सतर्कता अपनाउन डा. पुनको सुझाव छ।
यो भाइरसबाट बच्न खोक्दा, हाच्छ्युँ गर्दा हातले छोपेर गर्न डा. पुनको सुझाव छ। उहाँले यो भाइरसको लक्षण देखिएमा भीडभाडमा सकेसम्म नजाने, जानै परेमा मास्क लगाउने, हात राम्रोसँग साबुन पानीले धुन उहाँको सुझाव छ।