• २४ पुस २०८१, बुधबार

अनुशासन र कर्तव्यपालन गरी अघि बढ्न खेलकुद सङ्घलाई मन्त्री चौधरीको निर्देशन

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस २३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद सङ्घहरूलाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाइ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री चौधरीले खेलकुदमा दर्ता भएका सङ्घहरूले देशको ऐन, कानुन नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने बताउनुभयो । जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानुन र नियमावलीअनुसार खेलकुद सङ्घहरू चल्नुपर्ने उहाँको भनाइ छ ।

‘‘हाम्रा सङ्घहरू, खेलकुदमा दर्ता भएको सङ्घहरू हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानुन नमान्ने, अदालतको नियम, कानुन नमान्ने । अनि त्यो सङ्घहरू, त्यो संस्थाहरूलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘हाम्रो देशको ऐन, कानुन छ । नियमावली छ, साथै अदालतको निर्देशन छ । फैसला छ । त्यसअनुसार गर्दिन मैले आग्रह गर्न चाहन्छु । जसरी खेलकुदमा नियम, अनुशासनले अघि बढ्छ, त्यसरी नै सङ्घहरू पनि अनुशासन र आफ्नो कर्तव्य पालन गरेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’’

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।