दोलखा समाचारदाता
दोलखा, पुस २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–२, ऐतिहासिक सहर दोलखामा निर्मित मुद्रा सङ्ग्रहालय सञ्चालनमा आउन सकेको छैन । यहाँ रहेको प्राचीन टक्सार घर अतिव्रmमण भएकाले राजकुलेश्वर तलेजु मन्दिर परिसरमा रहेको जिल्लाकै नमुना सङ्ग्रहालय भवन निर्माण भए पनि फिनिसिङको काम हुन नसक्दा सञ्चालनमा आउन नसकेको स्थानीय समाजसेवी हर्कबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यो भवन बहुवर्षीय योजनामा निर्माण सुरु भएको हो । पहिलो चरणमा पाँच लाख रुपियाँमा कम्पाउन्ड वाल निर्माण भएको छ । बागमती प्रदेश सरकारको तीन करोड ७३ लाख ८६ हजार रुपियाँको लागतमा भवनको संरचना तयार भएको छ । बाँकी काम सम्पन्न गर्न एक करोड ६२ लाख रुपियाँ प्रस्ताव गरिएको छ । डिपिआर अनुसार पहिलो चरणको काम २०७७ पुसदेखि सुरु गरी २०७९ जेठमा संरचना सम्पन्न भएको हो । एक हजार १५३ वर्गमिटर जग्गामा बनेको भवनको बजेट अभावमा बाँकी काम अलपत्र परेको छ ।
नेपाल भाषाको उद्गमस्थल मानिएको दोलखामा लोप हुने अवस्थामा रहेका पुराताìिवक महìवका सम्पदा र मानव सभ्यताको संस्कृतिसँग गाँसिएका पुराना सामग्री सङ्ग्रहालयमा सुरक्षित राखी सर्वसाधारण तथा पर्यटकलाई आकर्षित तुल्याउने अपेक्षा राखिएको छ ।
किंवदन्ती अनुसार अहिले जीर्ण अवस्थामा रहेको अतिव्रmमित टक्सार घर मल्लकालीन र राणकालीन समयमा भण्डारणका लागि प्रयोग गरिएको थियो । विसं १६०५ अघि नै दोलखाका राजा जयइन्द्रसिंह देवको पालामा यहाँ पहिलो टकमारी गरिएको थियो । मल्लकालीन टकभन्दा नेपालमै यो टक पहिले छापिएको कथन रहेको छ ।
दोलखा राज्यको यो मुद्रालाई सन् १९८९ मा लन्डनबाट प्रकाशित क्वाइनेज अफ नेपाल नामको किताबले तत्कालीन हिन्दु राज्यकै पहिलो सिक्का रहेको दाबी गरेको छ । बेलायती तीन जनाले तथ्यसहित प्रकाशित गरेको यो किताबमा राजा जयइन्द्रसिंहले चल्तीमा ल्याएको सिक्का तीब्बतमा भेटिएको पनि उल्लेख छ । मुद्रा सङ्ग्रहका व्रmममा तिब्बतमा पनि सो सिक्काको खोजी गरिने बताइन्छ ।
दोलखामा छापिएको यो सिक्का तिब्बत र म्युजियममासमेत कसरी पुग्यो ? भन्ने विषयमा खोज अनुसन्धान भइरहेको छ । शिवसिंह मल्लले दोलखा राज्य परास्त गरी काठमाडौँको भाषा चलनचल्तीसमेत चलाएको खुल्न आएको छ । जयइन्द्रसिंहलाई राष्ट्रिय विभूति मानिनु पर्दछ । यसका लागि पनि खोज अनुसन्धान अघि बढिरहेको छ ।
तत्कालीन राजा जयइन्द्रसिंहको दरबार पनि भत्किसकेको छ । इतिहासका ज्युँदो मानिएका राजा जयइन्द्रदेवको मूर्ति विसं २०५३ सालमा हराएको छ । दोलखाको ऐतिहासिक किताब खोतलखातलमा त्यो मूर्ति स्थानीय सहदेव सिंहको घरमा रहेको उल्लेख छ । यहाँबाट रानी विजयालक्ष्मीको मूर्ति पनि हराइसकेको छ । अहिले जयइन्द्रसिंह देवको मूर्ति स्थानीय समाजसेवी वैकुण्ठनारायण प्रधानको सक्रियतामा प्रतिस्थापन गरिएको छ ।