धादिङ समाचारदाता
धादिङ, पुस २३ गते । धादिङको दक्षिणी क्षेत्रमा रहेका विपन्न चेपाङ समुदायलक्षित आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीले आयोजना गरेको शिविरमा ४१४ जनाले सेवा लिएका छन् ।
सीमान्तीकृत चेपाङ समुदायलक्षित स्वास्थ्य शिविर गरिएको क्लबका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो । “स्वास्थ्यको सहज पहुँच पगोस् भन्ने उद्देश्यका साथ शिविर गरेका हौँ ।” उहाँले भन्नुभयो, “शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो, हाडजोर्नी तथा नसा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, आँखा, मुटु, मुख तथा दाँत, बाल रोगको सेवा र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।”
शिविर बेनीघाट रोराङ गाउँपालिकाको सहआयोजना, जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी नेतृत्वको २७ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरले नागरिकमा स्वास्थ्यसम्बन्धी चेतना थपेको डाक्टर अधिकारी बताउनुहुन्छ ।
“ग्रामीण क्षेत्रमा रहेका नागरिकले ठुलै स्वास्थ्य समस्या परे मात्र स्वास्थ्य संस्था पुग्छन् तर नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ भन्ने सन्देश यो शिविरले दिएको छ,” उहाँले भन्नुभयो, “अन्जानमा रोग पालेर बसेका नागरिकका रोग पहिचान भएको छ । उहाँहरूले थप स्वास्थ्य उपचार गर्नु हुने छ र नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास हुने अपेक्षा गरेका छौँ ।” बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले पालिकाले स्वास्थ्यलगायत नागरिकको आधारभूत आवश्यकता प्रवाहमा विशेष जोड दिएको बताउनुभयो ।