काठमाडौं, पुस २२ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालेले नै गरिरहेको हुँदा जारी केन्द्रीय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनु भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बैठकले पार्टीलाई सङ्गठित बनाउँदै वैचारिक तथा राजनीतिक ढङ्गले सुव्यवस्थित बनाउन कार्यदिशा निश्चित गर्ने समेत बताउनु भयो । उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानूनहरु बनाउँदै सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको पनि बताउनु भयो । उहाँले सरकारले विधेयक र कानूनहरु बनाउन तथा आर्थिक लगानीको कुरामा जोड दिन कार्यदलहरु बनाएको उल्लेख गर्दै कार्यदलहरुको सुझावका आधारमा अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘पार्टीलाई अझ सुदृढ, सङ्गठित बनाउने र वैचारिक तथा राजनीतिक ढङ्गले सुव्यवस्थित बनाउने ढङ्गले नै आगामी कार्यदिशाहरु निश्चित हुन्छ यो बैठकमा । सरकारको नेतृत्व हामीले नै गरिरहेको हुनाले सरकारको काम कारबाही प्रभावकारी बनाउनुपर्छ भनेर प्रतिवेदनमै छ । त्यसमा प्रतिवेदन प्रस्तुत अध्यक्ष कमरेडले पनि अझै प्रभावकारी भएन भनेर स्वयं भन्नुभएको छ । यो बैठकले सरकारलाई समेत थप दिशानिर्देशन गर्छ । सरकारले केही कार्यदलहरु बनाएको छ, विधेयकहरु अगाडि बढाउने, कानूनहरु बनाउने, आर्थिक लगानीको कुरामा पनि बढी जोड दिने खालका कार्यदलहरु बनाइएको छ । कार्यदलको रिपोर्टअनुसार सरकार अगाडि बढ्छ । आगामी बजेट तथा नीति कार्यक्रम बनाउँदा हामी पर्याप्त ध्यान दिन्छौं । कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्छौं ।’’
केन्द्रीय कमिटी सदस्य भानुभक्त ढकालले पार्टी नेतृत्वको बारेमा कुनै पनि विवाद नरहेको बताउनु भयो । उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयमा केही कुरा नसुनेको उल्लेख गर्दै आत्मसन्तुष्टिको लागि हल्ला फैलाइएको बताउनु भयो । उहाँले नेतृत्वको बारेमा पार्टीमा कुनै विवाद नरहेको र यस विषयले केन्द्रीय कमिटिमा प्रवेश समेत नपाएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिज्यूले म राजनीतिमा आउँछु भनेर बोलेको मैले आजसम्म सुनेको पनि छैन । अहिले हाम्रो महाधिवेशन पनि छैन । किनभने अहिले हामी पार्टी स्मुथली ड्राइभ गरिरहेका छौं । बिना तुकका कुराहरु गरेर कतिपय मान्छेहरुलाई सन्तुष्टि लाग्छ । त्यो आत्मसन्तुष्टिका लागि कतिपय मान्छेहरुले खपत गरेका छन् । हाम्रो पार्टीमा नीतिको बारेमा नेतृत्वको बारेमा कुनै पनि विवाद छैन । केन्द्रीय कमिटिको बैठकमा यस विषयले प्रवेश समेत पाएको छैन ।’
केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले २०८४ को निर्वाचनपछि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजनाका साथ अघि बढिरहेको बताउनु भयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने विषयलाई बल पुर्याउने गरी अनुशासनलगायतका विषयमा बैठकमा छलफल जारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘नेकपा एमाले एउटा राष्ट्रिय शक्ति हो । अनवरत रुपमा यो एउटा बलियो शक्तिको रुपमा रहँदै आइरहेको छ । अब २०८४ पछि मुलुकमा नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्ने योजनाको साथ हामी अगाडि बढेका छौं । त्यसैलाई बल पुग्ने गरी पार्टीमा अनुशासन कायम हुने कुरा, पार्टीमा विधि स्थापित गर्ने कुरा र पार्टीले आगामी दिनका लागि तय गरेका कार्यक्रमहरुलाई ग्रासरुटसम्म पुर्याउने कुराहरु बैठकमा उठेका छन् । यिनै कुराहरुलाई कार्यान्वयनमा लग्ने कुराहरु भएका छन् ।’’
जारी एमाले केन्द्रीय कमिटि बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।