काठमाडौँ, पुस २२ गते । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना प्रकरणमा ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको हो । लामिछानेविरुद्ध यसअघि कास्की, पर्सालगायतमा पनि सहकारी बचत रकम हिनामिनामा मुद्दा दायर भइसकेको छ । स्वर्णलक्ष्मीको बचत हिनामिनामा कुल एक अर्ब १९ करोडभन्दा बढी बिगो दाबी गरिएको छ । अदालतमा अब थुनछेक प्रक्रिया प्रारम्भ हुने छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको हो । मुद्दामा रास्वपा सभापति लामिछानेलाई गोर्खा मिडिया प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा मुद्दा चलाइएको हो । यस्तै गोर्खा मिडियाकै तत्कालीन सञ्चालक गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी, कुमार रम्तेललाई पनि विपक्षी बनाइएको छ । यस्तै सहकारीका अध्यक्ष, पूर्वअध्यक्ष, सञ्चालक र लेखा समितिका सदस्यलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।
अभियोपत्र अनुसार मुद्दामा देवेन्द्रबाबु राई, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलान, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवालाई प्रतिवादी बनाइएको छ । यस्तै किशान्ति सुवेदी, रोमन काफ्ले, नवीन अछामी, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल, विशाल तामाङ, असरफ अली सिद्धिकी, अनन्तबाबु राई, खिमानन्द कँडेल, वल्लभ नेपाल, गोकुल श्रेष्ठ, भूपेन्द्र राई, मुखिया कान्छा गुरुङ, जनक भट्टराई, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, पुष्पराज पौडेल, कमलकुमार घिमिरे र कृष्णबहादुर पोखरेल प्रतिवादी बनाइएको छ ।
बचतकर्ताले जम्मा गरेको रकम वर्तमान तथा तत्कालीन सञ्चालक जीबी राई, देवेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नवीन अछामी, कल्पनाकुमारी श्रेष्ठ, भूपेन्द्र राईले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ ठगी गरेको आरोप अभियोगपत्रमा छ ।
अभियोगपत्रमा कानुनविपरीत सहकारीबाट गोर्खा मिडियाले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपियाँ लिएकाले लामिछाने र जिबीको हकमा सोही बिगो कायम गर्न माग गरिएको छ । सञ्चालक जोशीको हकमा पाँच करोड ७८ हजार ९६ हजार ४८० रुपियाँ कायम गर्न माग गरिएको छ । जिबी ग्रुप अफ कम्पनिजका हकमा एक करोड ६९ लाख २३ लाख ३०७ रुपियाँ बिगो कायम गर्न माग गरिएको छ । यस्तै हर्बो इन्टरनेसनल प्रालिका हकमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपियाँ बिगो कायम गरिएको छ । हर्बोका अध्यक्ष कविता तामाङको हकमा पनि कम्पनी बराबर बिगो कायम गरिएको छ ।
यस्तै नेचर नेस्ट प्रालिलाई एक करोड ९३ लाख दुई हजार ६०३ रुपियाँ बिगो कायम गरिएको छ । कम्पनीकै अनन्तबाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठको हकमा पनि सोही बराबर बिगो कायम छ । स्प्रिङ उड रियल स्टेट प्रालिका हकमा एक करोड ३३ लाख ३६ हजार ४३० रुपियाँ बिगो कायम भएको छ । कम्पनी सरहकै बिगो प्रतिवादी भगवती बम्जनका हकमा पनि कायम छ ।
न्यु सुलक्स अफसेट प्रिन्टर्स प्रालिका हकमा ५३ लाख १५ हजार २८५ रुपियाँ बिगो कायम गरिएको छ । प्रतिवादी देवकुमार तामाङलाई पनि कम्पनी सरहकै बिगो कायम भएको छ । गोरखा ग्रुप अफ कम्पनी प्रालिलाई ४० लाख सात हजार ७२३ रुपियाँ बिगो कायम गरिएको छ । प्रतिवादीहरू शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, पुष्पराज पौडेलसमेतलाई पनि कम्पनी सरहकै बिगो कायम गरिएको छ ।
अभियोगपत्रमा सारेगम रेकर्डस् प्रालिलाई ५३ लाख १५ हजार २८५ रुपियाँ बिगो कायम गरिएको छ । प्रतिवादी किरण पुडासाईलाई पनि सोहीबमोजिम बिगो कायम भएको छ । सुपरसिटी इन्टरप्राइजेज प्रालिलाई ७३ लाख आठ हजार १६४ रुपियाँ बिगो कायम भएको छ । कम्पनी सरहकै बिगो प्रतिवादी पुष्पराज पौडेल, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेललाई पनि कायम भएको छ ।
मन्दरा टुर्स एन्ड एक्सपिडिसन प्रालिलाई दुई करोड तीन लाख एक हजार ३४० रुपियाँ बिगो कायम भएको छ । कम्पनीका जिबी र हेमन्त अधिकारीलाई पनि सोही अनुसार बिगो कायम गरिएको छ । गोरखा हर्बल प्रोडक्सन प्रालिलाई एक करोड ८२ लाख ८५ हजार ७४५ रुपियाँ बिगो कायम भएको छ । प्रतिवादी जनक भट्टराईका हकमा पनि सोही बिगो कायम गरिएको छ । प्यागोडा होम्स प्रालिलाई एक करोड १० लाख ७५ हजार ५७३ रुपियाँ बिगो कायम भएको छ । प्रतिवादी अनन्तबाबु राई, भूपेन्द्र राईलाई पनि कम्पनी सरहकै बिगो कायम गरिएको छ ।
देवदीप एग्रिकल्चर एन्ड एनिमल फार्म प्रालिलाई तीन करोड ७८ लाख सात हजार ९३६ रुपियाँ बिगो कायम गरिएको छ । कम्पनी सरहकै बिगो प्रतिवादी भूपेन्द्र राईलाई पनि कायम भएको छ । भगवती बालुवाखानी प्रालिलाई ७६ लाख ९० हजार ८९३ रुपियाँ बिगो कायम भएको थियो । प्रतिवादी मुखिया कान्छा गुरुङको हकमा पनि कम्पनी सरहकै बिगो कायम भएको छ ।