• २३ पुस २०८१, मङ्गलबार

विद्यालय सुधारका लागि बाल संरक्षण नीति

blog

सिविन नेपालद्वारा मनहरी गाउँपालिका अन्तर्गत पाँच वटा वडाका विद्यालयमा बाल संरक्षण नीति पालिकालाई हस्तान्तरण गरिँदै ।

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २२ गते ।  मकवानपुरका दुई स्थानीय तहमा विद्यालय बाल संरक्षण नीति तयारी गरी लागु गरिएको छ । विद्यालयलाई समाजका सबै प्रकारका बालबालिकाको निम्ति शिक्षाको सहज र समान पहुँच एवं आकर्षक शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित नीति तयार गरिएको हो ।

बालबालिकाको जीवन, विकास, संरक्षण र सहभागितालाई सुनिश्चित गरी शिक्षा हासिल गर्ने उमेरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनु, टिकाउनु र बालमैत्री वातावरणमा समतामूलक एवं सहभागितामूलक जीवनोपयोगी शिक्षा दिने नीतिमा उल्लेख छ ।

विद्यालयलाई भयरहित, शान्त एवं बालमैत्री वातावरणमा ज्ञान आर्जन गर्ने स्थलका रूपमा विद्यालयलाई विकास गर्न आवश्यक भएको भन्दै स्थानीय तहले बाल संरक्षण नीति तयार गरी लागु गरेका हुन् । विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको संयुक्त सहभागितामा विद्यालय सञ्चालनको मार्गदर्शनका रूपमा विद्यालय बाल संरक्षण नीति हेटौँडा उपमहानगरपालिकाको १२ र मनहरी गाउँपालिकाको नौ वटा विद्यालयले तयार गरी लागु गरेका छन् । 

नीति निर्माणमा सहजीकरण गर्ने सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झवीन्द्र ज्ञवालीले बालबालिकाको हकहित, संरक्षण एवं बालबालिकाको समग्र शैक्षिक विकासका पक्षलाई समेट्न आवश्यक भएकाले विद्यालय बाल संरक्षण नीति तयार गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा नीति कार्यान्वयनपछि विद्यालयलाई शान्त र भयरहित बनाउन सहयोगी हुने विश्वास गरिएको बताउनुभयो । उहाँका अनुसार बालमैत्री स्थानीय तह घोषणा गरेको स्थानीय तहमा बाल संरक्षण नीति तयार गरी लागु गर्नुपर्ने हुन्छ ।

विद्यालयलाई समृद्ध राष्ट्र निर्माणका लागि योग्य, सभ्य, कर्मठ एवं नैतिकवान् जनशक्ति उत्पादन गर्ने विश्वस्त संस्थाका रूपमा विकास गर्ने नीतिले दीर्घकालीन लक्ष्य लिएको छ । नीतिमा विद्यालयमा बालबालिका, सामाजिक, विद्यालय र पारिवारिक समस्या र समाधानका लागि आवश्यक कार्यनीतिसमेत समेटिएको छ ।

बालबालिका विद्यालय नआउने, अध्ययन गर्दागर्दै विद्यालय छाड्ने, श्रममा जान बाध्य, विद्यालय पढ्ने उमेर समूहका सबै बालबालिका शिक्षाको पहुँचमा नभएको, बालविवाह, छोरीलाई शिक्षामा कम प्राथमिकता, भय, दण्डरहित र बालमैत्री शिक्षण सिकाइलाई पूर्ण पालना गर्न नसकिएको, विषयगत, तहगत शिक्षक दरबन्दीको अभाव, अभिभावकमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने चेतनाको कमीलगायतका समस्या रहेको नीतिमा औँल्याइएको छ ।

अपाङ्गता भएका तथा विशेष परिस्थितिका बालबालिकालाई विद्यालय शिक्षामा ल्याउन विशेष व्यवस्था गर्ने नीतिमा भनिएको छ । विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकबिच आपसी समन्वय, सद्भाव र मर्यादा अभिवृद्धि गर्ने, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने र विद्यालय व्यवस्थापन, शैक्षिक गतिविधि तथा व्रिmयाकलापमा बाल सहभागिता सुनिश्चित गरी उनीहरूको भावनाको कदर गर्ने लक्ष्यसहित नीति तयार गरिएको हो । विद्यालय बाल संरक्षण नीति कार्यान्वयन तथा व्यवस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय बाल संरक्षण समिति र शिक्षक अभिभावक सङ्घका अध्यक्षको संयोजकत्वमा तीन सदस्य विद्यालय बाल संरक्षण नीति अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्ने व्यवस्था गरिएको छ । 

मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामीमगरले विद्यालय बाल संरक्षण नीतिले गाउँपालिकाको शैक्षिक क्षेत्रको विद्यमान अवस्थामा परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक विद्यालयको फरक फरक अवस्थालाई समेटेर नीतिलाई अन्तिम रूप दिई स्थानीय तहलाई हस्तान्तरण गरिएको यो नीति विद्यालय व्यवस्थापन समितिको बैठकबाट पारित भएको मितिदेखि लागु हुने छ । नीति विद्यालयले पुस महिनाभित्रमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । 

नीतिमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले पालना गर्ने आचारसंहितामा उल्लेख गरिएको छ । विद्यालय बाल संरक्षण नीतिविपरीतका कार्य तथा नीतिको उल्लङ्घन भएमा घटनाको उजुरी लिन सुनुवाइ तथा कारबाही गर्न सकिने र उजुरी उपरको कारबाहीमा मर्का पर्ने पक्ष तथा पीडकमध्ये कसैलाई चित्त नबुझेमा विद्यालय व्यवस्थापन समितिदेखि अदालतसम्म जान सकिने व्यवस्था गरिएको छ ।