विजयकुमार साह
ढल्केबर, पुस २० गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगन्जमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्य रङ्गशालामा मधेश प्रदेश र बागमती प्रदेशबिच हुने जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभूवन आर्मी क्बलकोे सहभागिता उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशका दुई ठुला सहरमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको प्रतियोगिता जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी उत्साहित देखिएका छन् ।
जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी निकै उत्साहित रहेको स्थानीय युवा राजाराम साहले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रतियोगिताको प्रतीक्षामा छौँ । टेस्ट संरचनाको पहिलो खेल जनकपुरबाट सुरु हुनु हाम्रो लागि गौरवको विषय हो ।”
मैदानमै उपस्थित भएर सबै खेल हेर्ने स्थानीय राजारामले बताउनुभयो । नेपाल प्रिमियर लिग क्रिकेट बिजेता जनकपुर बोल्ट्सको परेडमा देखिएको सहभागिताले पनि यहाँ क्रिकेट खेलप्रति कति उत्साह छन भने पुष्टि गरेको उहाँको भनाइ छ ।
अर्का स्थानीय विमलेश सिंहले राष्ट्रिय खेलाडीले भरिपूर्ण यस प्रतियोगिताले हामी क्रिकेटप्रेमीको उल्लास बढाएको बताउनुभयो । रातो बल र सेतो पोशाकमा खेलिने जय ट्रफीको आयोजना यहाँ हुनु ठुलो उपलब्धी भएको उहाँको भनाइ छ ।
जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष पाण्डेले जय ट्रफीका लागि जनकपुरको रजौलस्थित रामजानकी रङ्गशालाको खेल मैदानको सबै काम पूरा भएको बताउनुभयो । आइतबार जय ट्रफीको भव्य शुभारम्भ हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत लिग चरणको तीन खेल यहाँ हुने उहाँले बताउनुभयो ।
जनकपुरमा पहिलो खेल मधेश र बागमती प्रदेशबिच हुने छन् भने दोस्रो खेल बागमती र आर्मी तथा तेस्रो खेल बागमती र पुलिस क्लबबिच हुनेछ । त्यस्तै, वीरगन्जमा पहिलो खेल आर्मी र पुलिस, दोस्रो खेल मधेश र पुलिस तथा तेस्रो खेल मधेश र आर्मीबिच हुनेछ ।
लिग चरणका खेल दुई दिवसीय र फाइन तीन दिवसीयको हुने अध्यक्ष पाण्डेले बताउनुभयो । क्यानका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठले खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन जय ट्रफीअन्तर्गत टेस्ट संरचनामा यो प्रतियोगिता हुन लागेको बताउनुभयो ।
जय ट्रफीका लागि जनकपुरको रजौलस्थित रामजानकी रङ्गशाला र वीरगन्जको नारायणी खेल मैदान तयारीको काम पूरा भएको जानकारी दिनुभयो ।