गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धि समसामयिक सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरूसहित भएको कार्यक्रममा सूचनाको हक कार्यान्वयनका लागि गरिने न्याय सम्पादनमा दुबै पक्ष लाग्ने विषयमा जोड दिइएको छ ।
सूचना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रमको सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोख्रेलले उद्घाटन गर्नुभयो । सूचना बौद्धिक सम्पत्ति भएको उहाँले चर्चा गर्नुभयो । सर्बोच्चका न्यायाधीश पोख्रेलले सूचनाको हक विश्वव्यापी अधिकारको रूपमा स्थापित भएको बताउँदै भन्नुभयो, “जुन व्यक्तिसँग सूचना पर्याप्त छ, त्यो व्यक्ति सम्पत्तिको हिसाबमा धनी हुने अवस्था आएको छ। तसर्थ संविधान र कानुनले दिएको हक प्रयोग गरेर सूचना माग्ने सङ्ख्यामा दिनानुदिन वृद्धि हुन थालेको छ। यसो हुनुमा सूचनाको हकसम्बन्धि जागरुकता पैदा हुनु हो।”
लोकतान्त्रिक व्यवस्थामा जवाफदेहीता र पारदर्शिताले नै सुशासनको अवस्था बलियो हुने बताउँदै न्यायाधीश पोख्रेलले भन्नुभयो, “त्यस्ता सार्वजनिक निकायलाई जवाफदेही बनाउ जुन निकायले आफ्नो सूचनाप्रति पूर्ण जवाफदेही हुन सकोस् । अहिले यत्ति काम गर्न आयोग सफल भयो भने सूचनाको हक स्थापित गर्ने काममा ठुलै उपलब्धि हासिल हुनेछ।”
आयोगले सूचना वर्गीकरण नभएको अवस्थामा आफैले कार्यविधी बनाएर सार्वजनिक सूचना र गोप्य सूचनाको अवधारणाका आधारमा काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरले मौलिक हकको कार्यान्वयनको सुनिश्चितताका लागि सूचना आयोग र उच्च अदालतको काँधमा गहन जिम्मेवारी रहेको बताउनुभयो। कायममुकायम न्यायाधीश कुँवरले भन्नुभयो, “आयोग स्थापना भएको पन्ध्र वर्ष भइसकेको छ। तसर्थ समयसापेक्ष ऐन कानुन र नियमावलीले संशोधन माग गरेको छ। त्यसका लागि आयोगले आफ्नो अभ्यासको आधारमा कानुनमा परिमार्जनको आवश्यकत्ता छ।”
सूचनाको हकसँगै सूचना मागकर्ताको विषयमा समेत अध्ययनको आवश्यक भएको बताउँदै उहाँले पुनरावेदनको सुनुवाइ गर्दा आधारभूत तहमा फैसला गर्नुअधि दुवै पक्षको कुरा सुनेर न्याय सम्पादन गर्न जोड दिनुभयो। सूचनाको सीमा र अभ्यासबाट समेत आफ्नो काम स्थापित हुन सक्ने बताउँदै कायमकुकायम न्यायाधीश कुँवरले नागरिकप्रति जवाफदेहीता र सुशासनका लागि सूचनाको हकको सुनिश्चिताले मात्र लोकतन्त्र बलियो बन्ने कुरामा जोड दिनुभयो ।
सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल र आयोगका आयुक्त दुर्गाभण्डारी पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको आयोगका प्रवक्ता गगन विष्टले जानकारी दिनुभयो । कार्यक्रममा न्यायाधीशहरू लेखनाथ पौडेल, ब्रजेश प्याकुरेल, कृष्णराम कोइराला, हेमन्त रावलले महत्त्वपूर्ण सुझाव राख्नु भएको थियो । आयोगका सचिव कमल भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।