• ४ जेठ २०८१, शुक्रबार

निर्वाचन मतपरिणाम सन्तोषजनक : कांग्रेस प्रवक्ता डा. महत

blog

ललितपुर, जेठ ९ गते । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएको बताउनुभएको हो ।

‘‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ । छिटपुटबाहेक मतगणना सकिएको छ । नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।,’’ उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसले ३२० पालिका प्रमुखमा जितेको, नौ पालिकामा अग्रता लिइसकेको र अग्रता लिएको ठाउँमा जित्ने सुनिश्चितता रहेको दाबी गर्नुभयो ।

प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल रहेको बताउनुभयो ।

‘‘यो चुनावको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्षनेताहरू समेत सन्तुष्ट हुनुहुन्छ भनेर मैले बुझेको छु ।’’ उहाँले भन्नुभयो ।