• २२ पुस २०८१, सोमबार

‘हिँड्न बाँकी बाटाहरू’ मा अर्जुनबाबु

blog

नेपाली भाषा साहित्य पढेँ । आज पनि नेपाली विषय नै पढाइरहेछु । दशक लामो शिक्षण यात्रामा कविता र अक्षरसँग खेलिरहेछु । अक्षरको नाता र जीवनको नाता जोडिएको अनुभव झन् गम्भीर हुने रहेछ । आज म एउटा नयाँ अनुभूति पस्कने कोसिसमा छु । यतिखेर म केही अनुभव र केही समालोचना लेखिरहेछु ।

अर्जुनबाबु दाहाल पछिल्लो छिमलका उम्दा कवि हुन् । खाँदबारी नगरपालिकाको तुम्लिङटारमा भव्य साहित्यिक कार्यक्रमबिच अर्जुनबाबुको कवितासङ्ग्रह ‘हिँड्न बाँकी बाटाहरू’ सार्वजनिक भएको थियो । म पनि साक्षी भएँ र हेरिरहेँ । कम्ता खुसी लागेन । तल अरुण बगिरहे झैँ मेरो मनले त्रिभुवन विश्वविद्यालयमा नेपालीमा स्नातकोत्तर गर्दै गरेको करिब १० वर्षअघिको क्षणमा पुर्‍यायो । कीर्तिपुरमा बढे बढे प्राध्यापक र कविहरूसँग सङ्गत गरेँ, गर्न पाएँ । आफैँ पनि कविता लेख्छु तर पुस्तक प्रकाशन भएको छैन । मलाई कविता कविता हुनुको मर्म र अकवितालाई कविता भनेर बेचिरहेको भ्रम थाहा छ । प्राडा खगेन्द्र लुइटेलको समालोचकीय सन्दर्भ होस् वा प्राडा वासुदेव त्रिपाठीको पाश्चात्य समालोचना । प्राडा गोविन्दराज भट्टराई र प्राडा अभि सुवेदी सरको काव्यिक विश्लेषण होस् वा मेरै सहपाठी साथीहरूका कविता, यी सबैसँग जोडिँदै आएकी छु । देख्दै बुझ्दै जान्दै र सिक्दै आएकी छु ।

अरुणको पानी पिएर सङ्खुवासभामा हुर्केकी भएर हो वा यतै पारि भोजपुर दिङ्ला र बालागुरु षडानन्दको शैक्षिक स्पर्शले हो अथवा योगमायाको प्रतापले हो, जस्तोसुकै कुराले मलाई छुन्न । अहङ्कार होइन, यो मेरो प्रेम, अनुराग र साहित्यप्रतिको सम्मान हो । 

अर्जुनबाबु दाहालको कवितासङ्ग्रहको गृह विमोचन भइरहँदा १६ जना कविले प्रतियोगितात्मक कविता सुनाए । पाँच जना पुरस्कृत भए । त्यसमध्ये मैले पहिले पढाएको र अक्षरमा भाव कुँद्न सिकाएको विद्यार्थी प्रथम हालै मात्र मैले सरुवा भएर सेवा सुरु गरेको विद्यालयकी छात्रा दोस्रो भइन् । तिनीहरू पुरस्कृत हुनुमा मेरोभन्दा बढी तिनकै प्रतिभा प्रमुख कारण हो तर मैले गौरव गर्न पाएँ । सँगै उभिएर फोटो खिचाएँ । एउटा शिक्षक हुनुको गौरव हो यो तर त्यो मञ्चमा मेरी प्यारी बहिनी उषाले प्रेम जितेकी मेरी बहिनीको सौभाग्य मुस्कुराइरहेका थिए ।

मलाई आफ्नै बहिनी माला लगाएर हाँसिरहे झैँ लाग्थ्यो । आमा हुनुहुन्थ्यो साथमा । आमासँगै भाइबुहारी पनि । मञ्चमा कविता र कवितामै पनि महाकाव्यमा मदन पुरस्कार जितेका कवि डा. नवराज लम्साल ‘हिँड्न बाँकी बाटाहरू’ का कविताभित्र अर्थको तह र पत्र पत्र केलाउँदै हुनुहुन्थ्यो । कविताको र विशेषतः महाकाव्यको डाक्टर भनेर चिनिने डा. लम्सालको टिप्पणीलाई सङ्खुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकी र कृष्ण चापागाईंले विमोचनसँग कान्छो पुस्तालाई जोडेर कविता प्रतियोगिता आयोजना गरेर, पुस्तकहरू बिच तिनलाई पुरस्कृत गर्नुको पछाडि काव्य मोहको रस घोलिएको पाएँ ।

म यतिखेर समीक्षा र समालोचना होइन, अनुभूति लेखिरहेछु । मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवाल र सङ्खुवासभाका साहित्यिक मनको यो फराकिलो आँगन विमोचनसँग मात्र सम्बन्धित छैन । यसले संखुवासभाको साहित्यिक इतिहासमा नयाँ बाटो देखाएको छ ।

अर्जुनबाबु सङ्खुवासभाको हुनु र यहीँ कविता विमोचन हुनुभन्दा माथि विमोचन कार्यक्रम आफैँमा सङ्खुवासभामा कविताको प्रशिक्षण भइरहे जस्तो भयो । त्यो ठुलो कुरा हो । साना साना प्रयासबाट ठुला काम हुने रहेछ । यस पटक सङ्खुवासभाले त्यो अवसर पायो । यसका जग हुन् कवि अर्जुनबाबु र प्रधानाध्यापक कुवेर भेटुवाल । अर्जुनबाबुले लेखेका छन्–

यस्तो लाग्छ

प्रश्नै प्रश्नले घेरिन्छ 

प्रश्न पनि (पृष्ठ १००)

के प्रश्न होला अर्जुनबाबुसँग ? देशको ? समाजको ? निजी जीवनको ? परिवारको ? वा विश्व ब्राह्मण्डको ? कविहरू सङ्क्षेपमा बोल्छन् । अर्जुनबाबु पनि सङ्क्षेप र सूत्रमा बोलेका छन् ।

उनले आमाको काख र गाउँको तुलना गरेका छन् । दिनहुँ देश छोड्ने लर्कोको चिन्ता गरेका छन् । भ्रष्ट र भ्रष्टाचारमाथि प्रहार गरेका छन् । हिँड्न बाँकी बाटाहरू देखाएका छन् । पत्नी उषालाई उषाको उज्यालो भनेका छन् र छोराहरूलाई सम्बोधन गरेर असल हुन प्रेरणा दिएका छन् । ती छोराहरू उनका मात्र होइनन् देशका सबै छोरा माथिको सम्बोधन हो यो । आफैँलाई नमार, प्रिय दुस्मन, धर्ती रहेसम्म, सहर र मान्छे, जिन्दगी र खुकुरीको धार, सिंहदरबार र विरासतको भ्रम जस्तो कवितामा उनले देश बोलेका छन् । देश लेखेका छन् र समयलाई अक्षरमा खेलाएका छन् । 

आज म बिच धारमा छु । ज्वाइँ भनेर ज्वाइँको मुहार लेखिरहेकी पनि छैन र कवि भनेर कवि मात्रै हेरिरहेकी पनि छैन । मान्छे कवि र कवि मान्छेलाई हेरिरहेकी छु । हिँड्न बाँकी बाटाहरू अर्जुनबाबुको मात्र होइन, प्रत्येक नेपाली र देशले नै हिँड्न बाँकी रहेको सत्मार्गको बाटो हो । सुशासन, न्याय र समृद्धिको बाटो हो । यसतर्फ सबैको ध्यान जाओस् मेरो कामना छ ।

अन्त्यमा डा. नवराज लम्सालको एउटा पङ्क्ति दोहोर्‍याएर मेरो भनाइ टुङ्ग्याउँछु । उनी लेख्छन्, “अर्जुनबाबु दाहाल एक दशकअघि सङ्खुवासभाबाट उज्यालो खोज्दै सहर पसेका हुन् । सहर पस्दा उनीसँग केही थान गीत र कविताबाहेक केही थिएन सायद । सहरमा उनी दुःख र सुखको दोसाँधमा उभिएर अनुभूति र सुस्केरा सँगालिरहेका छन् सिर्जनाहरूमा ।”

डा. लम्सालले भनेभन्दा बढी यति भन्नु छ, अर्जुनबाबु दाहाल उषाको मायाको गुँडमा आर्सभ र अभिमन्यु हुर्काउँदै आयुर्दा आयुर्वेदिक क्लिनिक चलाइरहेका छन् र कविताको कोमल अक्षर जस्तै मायालु हातले धेरैभन्दा धेरै बिरामीलाई उपचार गरेर निको पारिरहेछन् । उनी कवितामा मनको डाक्टर हुन् र जीवनमा उपचारको डाक्टर ।

अर्जुनबाबुको प्रतिभाबारे जानकार थिएँ । उतिबेला कविहरूका भिडको कुनै कवि जस्तो लाग्थ्यो, आदर्श शिक्षक जस्तो लाग्थ्यो, समाज रूपान्तरणको अभियन्ता जस्तो लाग्थ्यो तर कीर्तिपुर पढ्दा मेरा गुरुहरूले सिकाएको कविताको तराजुमा जोख्दा तपाईंलाई अब्बल कवि पाएँ ।