• २१ पुस २०८१, आइतबार

अर्थतन्त्र चलायमान बनाउन महोत्सव

blog

पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका पदाधिकारीहरु ।

चाँदनी हमाल

काठमाडौँ, पुस १९ गते । आयोजना हुन गइरहेको चितवन महोत्सवको १५ औँ शृङ्खलाले अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने विश्वास आयोजकले गरेका छन् । कोभिड–१९ महामारीपछि कमजोर आर्थिक गतिविधिलाई बढाउँदै देशको अर्थतन्त्र चलायमान गर्न सघाउने उद्देश्य महोत्सव आयोजकले राखेको हो ।

नेपालको कुल गार्हस्थ उत्पादनमा चितवनको कृषि उत्पादनको २३.९ प्रतिशत योगदान रहेको छ । देशकै तेस्रो पर्यटकीय नगरीको रुपमा रहेको चितवनको पर्यटनले कुल गार्हस्थ उत्पादनमा ७.६ प्रतिशतको योगदान दिएको छ । 

पोल्ट्रीमा आत्मनिर्भर देश बनाउन चितवनको पहिलो भूमिका रहेको छ । त्यस्तै दुध, केरा, माछा र तोरी उत्पादनले देशको ठुलो हिस्साको माग थेगेको छ । नेपालको वैकल्पिक राजधानीका रुपमा चितवनलाई लिइन्छ । 

चितवनमा हुने महोत्सवका बारेमा जानकारी दिन शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमार्फत नेपाल अझै विकास र आर्थिक अग्रसरतातिर लम्किरहेको छ भन्ने सन्देश दिने देशको उत्कृष्ट महोत्सव रहेको उद्योग बाणिज्य महासंघका एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई चलायमान गर्न र नेपाली उत्पादनलाई प्रबर्धन गर्दै निर्यातको वातावरण बनाउने अपेक्षा राखेका छौँ ।” चितवनको उत्पादन देशकै उत्पादन हो भनेर विदेशीलाई चिनाउन र व्यापार प्रवर्धनमा आपसी ज्ञान तथा सीप आदानप्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी उहाँले दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक विविधतासँगै नारायणी, राप्ती र रियुको अपार जलभण्डारको खानी चितवन हो भनिन्छ । जसले नेपालको प्रकृति, वनचर तथा जलचरसँगै सफा पानीको संरक्षणमा योगदान दिएको छ । 

अन्य मेला महोत्सवजस्तो धेरथोर रमाइलो गर्ने र केही आम्दानी गरेर हराउने खालको मेला चितवनमा नभएको महासंघका कार्यकारिणी समितिका सदस्य सविन श्रेष्ठले बताउनुभयो । देशको आर्थिक वृद्धिमा बढावा दिनेखालको गतिविधिलाई प्रोत्साहन गरिएकाले पनि महोत्सवको उच्च महत्व रहेको छ । 

महासंघको मेला प्रवर्धन समितिका सदस्य राजेन्द्र संग्रौलाले चितवन महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरको व्यापार तथा व्यावसायिक प्रदर्शनीका रुपमा विस्तार गरिने सोच रहेको जानकारी दिनुभयो । 

आर्थिक समितिका संयोजक कल्याण जोशीले पछिल्लो समय चितवनको केरालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रााण्डिङ गर्न पहल सुरु भएको जानकारी दिनुभयो । राजधानी काठमाडौँपछिको राम्रो स्वास्थ्य सेवा र शिक्षा सेवाको हबका रुपमा चितवन मौलाउँदै गएको उहाँको भनाइ छ । 

चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेभेलियनसहितको व्यवस्था गरिएको बताउनुभयो । चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने उद्दे्श्यसाथ महोत्सवस्थलमा त्यसको झल्को दिने कृत्रिम पार्क निर्माण गरिने उहाँको भनाइ छ । 

नारायणी किनारमा हुने महोत्सवमा बिमा गरिएका चारसय ३० स्टल रहनेछन् । विगतको तुलनामा पाँच दिन थप गर्दै पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर चितवनको प्रमुख पर्यटकीय स्थलसम्म पर्यटकलाई घुमाउने व्यवस्थासहितको पार्टी बस सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभरी क्याम्पाचउरमा फुड फेस्टिवल तथा सांस्कृतिक प्रदर्शनी गरिने संघका उपाध्यक्ष राजेन्द्र ओलीले बताउनुभयो । महोत्सव अवधिभरमा ३० करोड रुपियाँ भन्दामाथिको कारोबार हुने अपेक्षा राखिएको जानकारी उहाँले दिनुभयो ।