• २१ पुस २०८१, आइतबार

अस्पताल निर्माण सुस्त

blog

तानसेन समाचारदाता

तानसेन, पुस १९ गते । पाल्पा जिल्लाका छ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको काम सुस्त गतिमा अगाडि बढेको छ । बजेट अभावका कारण निर्माण गर्ने समयावधि सकिँदासम्म पनि काम सक्ने अवस्था देखिएको छैन । 

जिल्लाका चार पालिकामा चार वर्षअघि सुरु भएको आधारभूत अस्पताल निर्माणको काम हालसम्म ८० प्रतिशत पुग्न सकेको छैन । तीन वर्षभित्र काम सक्ने गरी निस्दी, पूर्वखोला, माथागढी र बगनासकाली गाउँपालिकामा चार वर्षअघि २०७८ असार २३ देखि अस्पताल निर्माणको काम थालनी गरिएको थियो । यद्यपि निर्माण सम्पन्न गर्ने समयावधि डेढ वर्ष बितिसक्दासमेत आधारभूत अस्पतालको काम ८० प्रतिशत सकिएको छैन । बजेट अभावका कारण अस्पताल निर्माणको कामले गति लिन नसकेको बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । 

निर्माण व्यवसायीले समयमै सक्ने गरी काम गरे पनि बजेट दिन नसक्ने भएपछि काममा ढिलाइ भएको उहाँले बताउनुभयो । आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारले आवश्यक बजेट समयमै व्यवस्थापन गर्न नसकेको पालिकाको गुनासो छ । पालिकाका अनुसार यही गतिमा आधारभूत अस्पतालको काम सकिन अझै केही वर्ष लाग्ने छ । 

सरकारले चार वर्षअघि निस्दीको आधारभूत अस्पताल बनाउन १६ करोड ६८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । यस्तै पूर्वखोलाको वीरकोटमा १२ करोड ५१ लख रुपियाँमा, बगनासकालीको अस्पतालका लागि १४ करोड ५० लाख रुपियाँमा ठेक्का दिएको थियो । यस्तै माथागढीको झडेवामा १२ करोड ५० लाख रुपियाँमा निर्माणको सम्झौता भएको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । 

जिल्लाको रम्भामा भने गत वर्षदेखि १५ शय्याको अस्पताल निर्माणको काम सुरु भएको थियो । रम्भा गाउँपालिका–५, ताहुँस्थित बाहुनडाँडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण भइरहेको छ । अस्पताल भवन बनाउन १६ करोड ३७ लाख ८९ हजार रुपियाँमा आगामी २०८३ भदौ ५ भित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो । 

खण्डहर बन्ने चिन्ता

यसैबिच पछिल्लो समय अत्यधिक बसाइँसराइले पालिकामा जनसङ्ख्या कम हुँदा यस्ता अस्पताल केही वर्षमै खण्डहर बन्न सक्ने आशङ्का गरिएको छ । जनसङ्ख्या र बस्ती नहेरी अस्पतालमा गरेको करोडौँ लगानी खण्डहर बन्ने यहाँका स्थानीय बासिन्दाले बताएका छन् । 

हाल अस्पताल बन्न लागेका स्थानको जनसङ्ख्या, पायक पर्ने भूगोल हेर्ने हो भने ती अस्पतालमा सेवाग्राही जाने अवस्था नरहेको पत्रकार गोविन्दप्रसाद भट्टराईले बताउनुभयो । पालिका, प्रदेश र सङ्घीय सरकारले लगानी गर्दा जनसङ्ख्या, भौगोलिक अवस्था, सेवा लिने सेवाग्राहीको अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने बताउनुभयो ।