• १३ पुस २०८१, शनिबार

धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै मेरो जीत हुन्छ : प्रमुख साम्पाङ

blog

धरान, जेठ ९ गते । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ ।

साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागर गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्नुभएको हो । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो ।

यस्तै, निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गर्नुभयो ।

सामाजिक अभियन्ताका रुपमा दरिनुभएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आउनुभएको थियो । उहाँ प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गर्नुभएको थियो । एक्लै भए पनि उहाँले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उहाँलाई लोकप्रिय मत दिएर जिताउनुभएको हो । उहाँले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गर्नुभएको थियो ।

को हुन हर्क साम्पाङ
हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुनुहुन्छ । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झर्नुभएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नुभएको छ ।

अध्ययनकै क्रममा उहाँले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उहाँ सामाजिक काममा लाग्नुभयो ।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गर्नुभएका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आउनुभएको थियो । तर चर्चा भने कम नै थियो । उहाँले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उहाँले सुरुआत गर्नुभयो । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाल्नुभयो । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उहाँ एक्लै सडकमा उत्रनुभयो । यस विषयमा विस्तारै अन्यले पनि साथ दिँदै गए ।

धरानको खानेपानी आयोजना, बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्दै जानुभयो । उहाँको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहनुभयो । ‘सतिसाल’झँै नागरिकका सानातिना समस्यामा उहाँ आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाउनुभएको छ ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उहाँको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उहाँ बताउनुहुन्छ । “यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उहाँहरुप्रति धेरै कृतज्ञ छु”, नवनिर्वाचित साम्पाङले भन्नुभयो ।

विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा हुनुहुन्थ्यो । ०७६ को उपचुनावमा भने उहाँ तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उहाँको मान्यता छ ।

उहाँ धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउनुहुन्छ । “धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उहाँले भन्नुभयो ।

अभियन्ता साम्पाङ
धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हाल्नुभएको थियो ।

एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याउनुएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

“धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो”, महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राेहीले भन्नुभयो । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गर्नुभएको छ ।

धरानमा विसं २०७६ पछि एमाले पछि प-र्यो
वामपन्थी गढका रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काउनुभयो । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पार्नुभएको हो ।

ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा सामान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहनुभएको थियो, हर्क साम्पाङले जीत हासिल गर्नुभयो । 

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो ।

विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका निर्वाचनमा समेत एमालेले विजय हासिल गर्दै आएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जीत हासिल गर्नुभएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गर्नुभयो ।

विसं २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७०९ मत प्राप्त गर्नुभयो भने प्रकाश राईले २३ हजार ९१४ मत पाउनुभएको थियो ।

धरानको कुल मतदाता एक लाख ३२४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गर्नुभएको छ । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाउनुभएको छ ।