• १६ भदौ २०८१, आइतबार

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण

blog

क्यानबेरा, जेठ ९ गते । अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिनुभएको छ । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो ।

उहाँसँगै केही मन्त्रीहरुलाई पनि शपथ खुवाइएको छ । उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई शपथ खुवाइएको हो । जापानको राजधानी टोकियोमा मङ्गलबार हुन लागेको “द क्युड” सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानुपर्ने भएकाले हतार हतार शपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ ।

सम्मेलनमा अमेरिका, जापान र भारतका शीर्षनेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेशमन्त्री जानुपर्ने भएको हो । उहाँ सोमबार नै शपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

अष्ट्रेलियाको तल्लो सङ्घीय संसदमा १५१ सिट छ । अष्ट्रेलियाको तल्लो सङ्घीय संसदमा बहुमत पुर्‍याउनका लागि कम्तीमा ७६ सिट जित्नुपर्दछ । त्यो पुर्‍याएर लेवर पार्टीले नयाँ सरकार गठन गरेको हो । सत्तारुढ गठबन्धनको नेतृत्व गर्नुभएका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिनुभएको थियो ।

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरि सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए ।