• १६ भदौ २०८१, आइतबार

सुडानमा चरम खाद्य सङ्कट

blog

साङ्केतिक तस्बिर

खार्तोम, जेठ ९ गते । सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब एक करोड ८० नागरिकले खाद्य सङ्कटको समस्या भोग्नुपरिरहेको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको चार करोड पाँच लाख जनसङ्ख्यामध्ये एक करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । यहाँ खाद्यान्नको सङ्कट हुनुमा रुस र युक्रेनबीचको  द्वन्द्व पनि छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि सङ्कट आइपरेको अधिकारीहरुको भनाइ छ ।