• १९ पुस २०८१, शुक्रबार

बिपीको सामाजिक चिन्तनधारा

blog

आज बिपी चिन्तन र साहित्यको खोजको विषय सुलभ रहे पनि हिजोको अवस्थामा त्यस्तो थिएन । त्यसबेलाका प्रजातन्त्रप्रति आस्था राख्ने लेखक, प्राध्यापक, पत्रकार तथा आमपाठकले ठुलो समस्या र भय बेहोरेका थिए । यस्तो प्रतिकूल परिवेशभित्र जीवन सञ्चालन गरेर त्रिभुवन विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि उपाधिका निमित्त अनुसन्धान गर्न तयार रहने पङ्क्तिकारले पनि ठुलो व्यवधान र त्रास बेहोरेको थियो । 

त्यसबखतको खोटाङ जिल्लाको दुर्गम गाउँ चुइचुम्मामा बाल्यकालमा बिपीको नाम सुनेको थिएँ तर प्रत्यक्ष भेटेर उनीसँग साक्षात्कार भएको गर्वको क्षण भने २०३७ असारमा थियो । त्यसबेला अन्तर्वार्ता लिन भनेर एक जना साथीका साथ म उनको निवास चाबहिल गएको थिएँ । म उच्च अध्ययनार्थ धरानबाट २०३३ सालमा काठमाडौँ आएपछि त्यही साल पुस १६ गते उनलाई स्वागत गर्न पुलिस प्रशासनबाट लुकीछिपी त्रिभुवन विमानस्थल पुगेको थिएँ । त्यस दिन बिपी राष्ट्रिय मेलमिलापको राष्ट्रिय नीतिका साथ भारतको पटनाबाट स्वदेश फिर्दै हुनुहुन्थ्यो । यस घटनाले काठमाडौँको राजनीतिक वातावरणलाई राम्ररी तताएको थियो । बिपी आगमनको तापका अगाडि पुस १६ को काठमाडौँको जाडो शक्तिशून्य थियो । ठुलो सङ्ख्यामा कांग्रेस नेता, विद्यार्थी, नागरिक, कर्मचारी, लुकीछिपी विमानस्थल पुगेका थिए । पुलिस, सेनाका मानिस कोही बर्दीमा र कोही बिनाबर्दी भिडमा सराबरी थिए । पञ्चायती व्यवस्थाका समर्थक अराजक गुन्डा (मण्डले) को सङ्ख्या पनि सराबरी थियो । बिपी अवतरण गरे । हामीलाई स्वागत गर्न दिइएन । उनलाई प्रतिबन्ध लगाइएको थियो । सिधै सुन्दरीजल लगियो । हामीमाथि एक्कासि मण्डलेले चेन, छुरा, भाला, तरबार आदिले साङ्घातिक हमला गरे । नेपाली कांग्रेसका कार्यकर्ता, हामी विद्यार्थी, प्रजातन्त्रवादी नेपाली नागरिक कोही पनि हमलाबाट जोगिन सकेनन् । हामी कोही ज्यान बचाउँदै भाग्यौँ । कोही आक्रमणमा पर्‍यौँ । सन्चो भएर बाहिर निस्किन निकै समय लाग्यो । 

यस घटनाले मलाई भने बिपी विचार र साहित्यको खोज गर्ने एक किसिमको हुटहुटी दिलायो । म उच्च अध्ययन गर्दै बिपी विचार र साहित्यको पनि अध्ययन गर्न थालेँ । २०३६ सालमा बिपी विचार र साहित्यमा शोधकार्य गरेर नेपाली भाषा साहित्यमा स्नातकोत्तर तह पूरा गर्ने मेरो चाहना पूरा हुन सकेन । राष्ट्रिय जनमतसङ्ग्रहको परिवेशको उपयोग गरेर मैले बिपी आख्यान (खास गरी कथा) मा अनुसन्धान गर्न त्रिविमा नाम दर्ता गराएँ । मैले यो काम स्वेच्छाले गरेको थिएँ । त्रिविका कुनै पदाधिकारीलाई सोधेको थिइनँ । त्रिविबाट अनुमति पनि लिएको थिइनँ । त्यसो त त्यसबेला कुनै प्रजातन्त्रवादी प्राध्यापकले कक्षामा पढाउँदा, प्रश्नपत्र तयार गर्दा, उत्तरपुस्तिका परीक्षण गर्दा पनि स्पष्टीकरण दिनुपर्ने अवस्था थियो यद्यपि विद्यालय, महाविद्यालय र विश्वविद्यालयका नेपाली पाठ्यक्रममा आख्यानकार विश्वेश्वरप्रसाद कोइराला समावेश गरिएको थियो । 

यस्तो अवस्थामा बिपी साहित्यमाथि प्रजातन्त्रवादी प्राध्यापक अथवा विद्यार्थीका हैसियतले स्वतन्त्र रूपमा विद्यावारिधि उपाधिका निमित्त स्वतन्त्र अनुसन्धान गर्ने प्रयत्न गर्नु आफैँमा जोखिमपूर्ण हिम्मतिलो निर्णय थियो । मैले आफ्नो प्रयत्नलाई गति दिने सोच बनाएँ । औपचारिकताका निमित्त त्रिविसँग अनुमति मागेँ । सहज रूपमा पाउन सकिनँ तर कठिन परिश्रमपश्चात् अनुमति पाएँ तर शोध निर्देशक पाउन निकै कठिन थियो । मैले नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख र सबै गुरुसमक्ष मेरो निर्देशक र विज्ञ बन्न अनुरोध गरेँ । कुनै समस्या आइपरे आफैँले बेहोर्ने सर्तमा अनुरोध गर्दा पनि कुनै गुरुले मेरो विषयमा निर्देशक बन्न स्वीकृति दिनुभएन । त्यसबेला म निकै निराश र हतप्रभ थिएँ तैपनि 

प्रयत्न छोडिनँ । 

पछिल्लो आशा बोकेर म प्राध्यापक ध्रुवचन्द्र गौतमकहाँ पुगेँ । डा. गौतम त्यसबेला चाबहिल आफ्नै घरमा बस्नुहुन्थ्यो । उहाँलाई मैले समस्या बताएँ । उहाँ प्रसन्न हुनुभयो र भन्नुभयो, “हरिजी, बिपी मेरा पनि प्रिय लेखक हुन् । म उहाँबाट प्रभावित भएको छु । तपाईंले उहाँका आख्यानमा पिएचडी गर्ने आँट गर्नुभएछ । अगाडि बढ्नुहोस् । तपाईंको शोधकार्यको निर्देशक बन्न म तयार छु । केही परे दुवै भएर बेहोरौँला । जेल जानु परे सँगै जाऔँला ।”

प्राध्यापक गौतमले ठुलो साहसका साथ मेरो शोध निर्देशकको मूल समस्या त समाधान गरिदिनुभयो । शोधकार्यका निमित्त अति आवश्यक अन्य प्राज्ञिक र प्राविधिक समस्या यथावत् थिए । मैले पहिलो काम बिपीको निजी निवास चाबहिलमा उहाँलाई, दुई दिन लगातार भेटेर विस्तृत साहित्यिक अन्तर्वार्ता लिएँ । बिपीले दिनुभएको त्यो विशेष अन्तर्वार्ताले मलाई शोधकार्य अगाडि बढाउन ठुलो मद्दत गर्‍यो । अन्य सामग्री स्वदेशी तथा विदेशी पुस्तकालयसम्म पुगेर सङ्कलन गरेँ । त्यो समय हस्तलेखनको थियो । नेटको सुविधा थिएन । कम्प्युटर टाइपिङ र फोटोकपीसम्मको सुविधा पनि प्राप्त थिएन । सबै काम हस्तलिखित हुन्थ्यो । शोधप्रबन्धको टाइप पनि टाइपराइटरद्वारा कार्बन राखेर गर्नु पथ्र्यो । 

बिपी विचार र साहित्यसँग सम्बन्धित महत्वपूर्ण सामग्री खोजका निमित्त भारतका पुस्तकालयसम्म पुग्नु अनिवार्य थियो । २०४१ सालको तिहारपछि मलाई त्यसतर्फ जाने अवसर जुट्यो । एक महिनाकी नवप्रसूता पत्नीलाई एक्लै डेरामा छोडेर म त्यसतर्फ लागेँ । संयोग कस्तो ! म बनारस पुगेकै भोलिपल्ट इन्दिरा गान्धीको हत्या भयो । भारतभरि भयावह वातावरण बन्यो । मेरै सामुन्ने बनारसमा शिखहरूको हत्या हुन थाल्यो । जसरीतसरी ज्यान बचाएर केही ढिलो गरेर म काठमाडौँ फिरेँ । ज्यान जान सक्ने खतराबिच मैले बनारसको ‘नागरी प्रचारिणी सभा’ पुस्तकालयबाट बिपीका हिन्दीमा लेखिएका प्रारम्भिक कथा, कविता, निबन्ध पूरै सारेर लिएर आउन पाएँ । आख्यानसम्बन्धी केही सैद्धान्तिक ग्रन्थ र ‘भार्गव हिन्दी शब्दकोश’ पनि लिएर आएँ । बिपीका यी दुर्लभ रचना मैले काठमाडौँमा विभिन्न पत्रपत्रिकामा विवेचना र रूपान्तरणसहित प्रकाशित पनि गरेँ । 

विद्यार्थी अवस्थादेखि नै म बिपी चिन्तन र साहित्यप्रति आकृष्ट भएकाले त्रिवि प्रशासन र पदाधिकारी मेराप्रति आग्रही प्रतिकूल दृष्टि राख्थेँ । सामग्री सङ्कलन र त्यसको प्रकाशनसमेत मेरा निमित्त अनुकूल थिएन । प्रतिकूल परिवेशसँग कठिन सङ्घर्ष गर्दै म बिपी अनुसन्धानलाई अगाडि बढाइरहेको थिएँ । अझ पनि केही महत्वपूर्ण सामग्री प्राप्त भइरहेका थिएनन् । यसैबिच बिपीको महत्वपूर्ण कथा ‘महाराजको सवारी’ जसका कारण १९९९ मा बङ्गालबाट प्रकाशित हुन लागेको कथासङ्ग्रह ‘बसिवियालो’ प्रतिबन्धित भएको थियो, काठमाडौँको मदन पुरस्कार पुस्तकालयमा पाइन सक्छ भन्ने जानकारी पाएँ । पुस्तकालयका कर्ताधर्ता थिए, भाषा साहित्यसेवी तथा भाषा इतिहासका लेखक कमल दीक्षित । 

हुन त दीक्षित परिवारसँग बिपी परिवारको पारिवारिक सम्बन्ध थियो तर प्रतिकूल राजनीतिककालमा यस्तो सम्बन्ध अध्ययनका निमित्त झन् प्रतिकूल बन्थ्यो । मैले जसरीतसरी कमल दीक्षितको पुस्तकालयबाट बनारसबाट प्रकाशित ‘युगवाणी’ २००५ सालको अङ्कमा प्रकाशित उक्त कथा सारेर लिएँ र साभार गरी अरू पत्रिकामा प्रकाशित गरेँ । ‘युगवाणी’ पत्रिकाका सम्पादक महाकवि लक्ष्मीप्रसाद देवकोटा र सन्तनेता कृष्णप्रसाद भट्टराई थिए । 

‘महाराजको सवारी’ कथा मैले पढ्न पाउँदाको घटना कम रोचक थिएन । कमल दीक्षितसँग पटक पटक अनुरोध गर्दा पनि मैले ‘युगवाणी’ पत्रिका पढ्ने अनुमति नपाएपछि दीक्षितले अध्यक्षता गरेको एउटा साहित्यिक कार्यक्रममा सार्वजनिक रूपमै गुनासो गरेँ । उनी पढ्न दिने अवस्थामा त पुगे तर उनको मसँग सवाल थियो, “तपाईं को हो ? तपाईंका गुरुहरू मोहनहिमांशु थापा, मोहनराज शर्मा, दयाराम सम्भव, कुमारबहादुर जोशी, ठाकुरप्रसाद पराजुली, केशवप्रसाद उपाध्यायलाई त मैले पुस्तक पढ्न दिएको छैन । कार्यक्रममा पड्किएर मलाई बदनाम गरी मेरा पुस्तक पढ्न खोज्ने तपाईं फुच्चे को हो ? के पढ्न चाहनुहुन्छ ? आउनुहोस् तर याद गर्नुहोस् तपाईंको पुस्तकालयमा जस्तो लापर्बाहीसँग पुस्तक पढ्न, पृष्ठ च्यात्न कुनै हालतमा पाइने छैन । चाहिने कुरा राम्ररी पढ्ने, चाहेको सारेर लिने, अन्यत्र मेरा सामग्री प्रकाशित गर्ने भए स्पष्टसँग साभार सौजन्य मदन पुरस्कार पुस्तकालय लेख्ने ।” 

मैले दीक्षितको सर्तबमोजिम ‘युगवाणी’ पढेँ । ‘महाराजको सवारी’ कथा जो ज्यादै दुर्लभ थियो, आद्योपान्त सारेर लिएँ र पाठकलाई सुलभ गराउने उद्देश्यले मदन पुरस्कार पुस्तकालयको सौजन्य खोलेर २०४१ को ‘संवत्सर’ ९/१० मा प्रकाशित गरेँ । यस पाक्षिक पत्रिकाका सम्पादक हुनुहुन्थ्यो नरहरि आचार्य । त्यसपछि उक्त कथा मैले अन्यत्र पनि प्रकाशित गरेँ । बिपीका कथामाथिको मेरो शोधकार्य पूरा भएपछि र २०४६ सालको परिवर्तनपछि भने बिपीका रचना पाठकका निमित्त सुलभ हुन थाले । 

यसरी बिपी साहित्यको अनुसन्धानमा विषय चयनदेखि सामग्री सङ्कलन, अनुसन्धान निर्देशन र मूल्याङ्कनमा समेत ठुलो प्रयत्न, व्यवधान र त्रासबिच २०४४ सालमै मैले शोधकार्य पूरा गरेँ । २०४५ सालको वैशाखमै प्रस्तुत भएको मेरो शोधकार्यको मूल्याङ्कनमा कतिपय प्राज्ञिक, प्रशासनिक र व्यावहारिक समस्याका कारण विलम्ब भएर २०४६ सालको साउन ६ मा मात्र मैले औपचारिक रूपमा विद्यावारिधि उपाधि प्राप्त गरेँ । विद्यावारिधि उपाधिको प्रयोजनका निमित्त अनुसन्धान खासै समस्याको विषय होइन । प्रतिबद्ध र सक्षम अनुसन्धाता जोकोहीले जुनसुकै विषयमा यो कार्य गर्न सक्छन् तर मेरा शोधनायक बिपी कोइरालाको व्यक्तित्व र उहाँको चिन्तन तथा साहित्यलाई पनि तात्कालिक पञ्चायती राज्यव्यवस्थाले प्रतिकूल दृष्टिले हेरेको हुँदा यस विषयमा अनुसन्धान गर्न सहज र भयरहित थिएन । मलाई भने जटिल समस्याको सामना गर्दै बिपी साहित्यमाथि पञ्चायतकालमा त्रिविबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने पहिलो अध्येता बन्ने उत्कृष्ट चाहना थियो । शोध निर्देशकको जिम्मेवारी वहन गरिदिएर डा. ध्रुवचन्द्र गौतमले मेरो चाहना पूरा गरिदिनुभएको थियो । 

प्रस्तुत अनुसन्धानका सन्दर्भमा देशबाहिर र भित्रबाट ज्यादै कठिनका साथ सङ्कलन गरिएका बिपीका दुर्लभ रचना र त्यसबखत तयार भएको शोधग्रन्थ यथावत् रूपमा प्रकाशित हुनु आवश्यक थियो । लामो समयसम्म सो कार्य हुन सकिरहेको थिएन । जननायक बिपी कोइराला स्मृति ट्रस्टको प्रस्तावमा अहिले यो कार्य सम्पन्न भएको छ । ट्रस्टले राष्ट्रिय मेलमिलाप दिवसको पुनीत अवसर पारेर उक्त दुर्लभ सामग्री र शोधग्रन्थ प्रकाशमा ल्याएको हो । तत्सम्बद्ध दुई ग्रन्थ आज प्रकाशित छन् । पहिलो ग्रन्थको नाम ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ हो भने दोस्रो ग्रन्थको नाम ‘बिपीका दुर्लभ रचना’ रहेको छ । पहिलो ग्रन्थ लेखकले तयार पारेको शोधग्रन्थको पुस्तकाकार हो भने दोस्रो ग्रन्थ लेखककै लेखन र सम्पादनमा तयार भएको कृति हो । यी दुवै कृति यथाअवसर ट्रस्टले आयोजना गर्ने कार्यक्रममा लोकार्पित हुँदै छन् । दोस्रो ग्रन्थमा बिपीसँगको विस्तृत साहित्यिक अन्तर्वार्ता पनि प्रकाशित छ । 

नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवाद बिपीको राजनीतिक तथा सामाजिक चिन्तनधारा हो । बिपी जन्म दिवस, स्मृति दिवस र राष्ट्रिय मेलमिलापजस्ता पुनीत अवसरमा उनका चिन्तन र सिर्जनासँग सम्बद्ध रचनाको खोज, प्रकाशन र त्यहाँस्थित सन्देशको अनुसरण हुनु नै उनीप्रतिको उच्चा स्मृति हो । अब बिपीको समाजवादी दृष्टिले उनका साहित्यको खोज र समीक्षा हुनु पर्छ ।   

Author

प्राडा हरिप्रसाद पराजुली