• १९ पुस २०८१, शुक्रबार

मेलमिलापको सान्दर्भिकता

blog

बिपी केवल एक व्यक्ति होइनन्, समाजवादी विचारक हुन् । समाजवाद भनेको उनकै शब्दमा गाउँ हो, जहाँ विपन्न परिवारका असङ्ख्य नरनारी बसेका हुन्छन् । नेपाललाई कृषिप्रधान देश भनिए पनि केही सीमित व्यक्ति धनी भएका तर ९० प्रतिशत नागरिक गरिब छन् । तिनै गरिब परिवारलाई आर्थिक रूपमा माथि उकास्नु नै समाजवाद हो । पार्टीका हजारौँ कार्यकर्ताप्रति बिपीको राजनीतिक समाजवादका रेखा मनमस्तिष्कमा कहिल्यै नमेटिने गरी कोरिएका छन् ।

तत्कालीन राजा महेन्द्रले संसदीय शासनप्रणाली खारेज गरी एकाएक बिपीको नेतृत्वमा गठित मन्त्रीपरिषद् विघटन गरेर संसद् भङ्ग गरी बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतका नेतालाई सुन्दरीजल कारागारमा थुनिदिए । आठ वर्षसम्मको नजरबन्दपछि बिपी विसं २०२५ मा मुक्त भए । लगत्तै स्वास्थ्य उपचारका लागि उनी बम्बई पुगे । लामो अवधि निर्वासनमा बस्दा राष्ट्रियता खतरामा परेको महसुस गर्दै विसं २०३३ पुस १६ गते उनी राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त अवलम्बन गर्दै स्वदेश फर्किए । बिपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै गिरफ्तारीमा परे । जुन देशका लागि अर्को राजनीतिक विडम्बना थियो । उनीमाथि देशद्रोह, राजकाजलगायतका सात वटा मुद्दा लगाइएका थिए । उनी निर्भीक भएर स्वदेश फर्के, मात्र राष्ट्रलाई बचाउन, राष्ट्रियतालाई जोगाउन । अवस्था गम्भीर थियो त्यसबेला । सिक्किमलाई भारतमा विलीन पारिसकिएको थियो । दक्षिण एसियाली मुलुक सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसियालगायतका मुलुकको आन्तरिक विद्रोह र अस्थिर राजनीतिक परिदृश्यबारे बिपीले राम्ररी अध्ययन गरिरहेका थिए । राजनीतिमा उदार भावना र व्यावहारिक चरित्र देखाउँदै विसं २०२८ मा राजा महेन्द्रको निधनमा रानी रत्नराज्यलक्ष्मी देवी शाहलाई बनारसबाट नै शोक सन्देशको तार पठाएका थिए बिपीले । 

बिपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलाप नीति ४८ वर्षपछि पनि किन सान्दर्भिक छ भन्नेबारे लोकतन्त्र पक्षधरले सोच्नु जरुरी छ । त्यसबेला उनीमाथि लगाइएका राजद्रोह र देशद्रोहसम्बन्धी मुद्दामा बयान दिन बिपी आफैँ २०३४ सालमा सिंहदरबारस्थित विशेष अदालतमा उपस्थित भए । उनीमाथि मृत्युदण्डको फैसला पनि हुन सक्थ्यो । बिपी सच्चा राष्ट्रभक्त थिए, राष्ट्रियताको नाता बिपीको नसा नसामा थियो भनेर उनीबारे बारम्बार भन्ने गर्थे समाजवादका व्याख्यता प्रदीप गिरी । 

आफ्नै गिर्दो स्वास्थ्यको वास्ता नगरी राष्ट्रियता र संवैधानिक राजतन्त्र बचाउनु पर्छ भन्ने मान्यतामा बिपी अडिग थिए भनी आफ्ना विचार राख्ने प्रदीप गिरी पनि आज हामीमाझ रहेनन् । नेपाली कांग्रेसभित्र वर्तमानमा विचारको खडेरी त परेको होइन भनी चिन्ता गर्नेको पङ्क्ति ठुलो छ । विविध विचार र गुट, समूह, जातजाति अटाउने मुलुकको जेठो राजनीतिक दलभित्र विविध तर्क आउनु स्वाभाविक हो । बिपी, गणेशमान, किसुनजी पुस्तादेखि हालका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुस्तासम्म आइपुग्दा पार्टीमा विभिन्न विचलन न आएका होइनन्; गुट, उपगुट नजन्मिएका पनि होइनन् र एकअर्काप्रति आरोपप्रत्यारोप नलागेका पनि होइनन् । 

प्रजातन्त्र, लोकतन्त्रको प्राण भनेकै यही हो । कार्य गर्ने शैली मात्र नेतामा भिन्न छ, संस्थापक नेताप्रति आस्थाको शिर सबैको झुकेको देखिन्छ । २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व धेरै पटक गर्‍यो, वामपन्थीलाई पनि भर्‍याङ चढाउने कार्य गर्‍यो, जुन राजनीतिक समाजवादभित्र नवीन प्रयोग थियो । नेपाली कांग्रेसले मात्र बिपीको समाजवादको चिन्तन गर्ने, मेलमिलाप नीति अवलम्बन गर्ने, वामपन्थीले किन नगर्ने ? संस्थापक नेता पो कांग्रेस पार्टीका हुन पुगे बिपी, राजनीतिक मार्गदर्शक त वर्तमानका सबै पार्टीका पनि भएकाले वर्तमानमा प्रमुख प्रतिपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस पार्टीकाप्रति अलि नरम र रुचिकर भाषा बोलिदिँदा पाच्य हुन्थ्यो होला । ती महान् र राजनीतिक महर्षि बिपी, गणेशमान, किसुनजी, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, मङ्गलादेवी सिंह, सहाना प्रधान आदिलाई सबै पार्टीका अनुयायीले समान रूपमा सम्मान प्रकट गर्दा पो राष्ट्रिय मेलमिलापको नीति र सिद्धान्त अपनाएको मानिन्थ्यो कि ? उनीहरू राजनीतिक मार्गचित्र कोरेर अर्को लोकमा पुगिसकेकाले सम्मान प्रकट गर्नुबाहेक अरू के गर्न सकिन्छ र ? 

भ्रष्टाचाररहित समाज, शोषक र दमन नीतिरहित समाज र राजनीतिक रूपमा सबैको साझा कर्तव्य तथा अधिकारको प्रत्याभूति दिन सक्नु पनि नेतृत्व वर्गको प्रमुख कार्य हो । राजनीति गर्ने व्यक्तिले सम्पत्तिमा आँखा नलगाई देश विकासमा गहिरो दिलचस्पी देखाउनु समाजवाद हो, राष्ट्रिय मेलमिलाप यसैमा निहित छ भन्ने सिद्धान्तका प्रतिपादक थिए बिपी । 

वर्तमानमा राजनीतिक नैतिकताको सङ्कट कता कता देखा परेको जस्तो आभास हुँदै छ । नैतिकता, सदाचार र इमानदारीपन हामीले घरबाट नै सिक्नु पर्छ । नैतिक आचरणबिनाका राजनीतिकर्मीले दिएका अर्तीउपदेशको अर्थ रहन्न । यसका लागि अध्ययनको खाँचो छ, चिन्तनको अभाव छ । दूरद्रष्टा बिपी समाजवाद र राष्ट्रप्रेमका नमुना थिए साथै प्रखर साहित्यकार र मनोवैज्ञानिक विचारक पनि । आठ वर्षसम्म कारागारमा बस्दा उनीद्वारा लखिएका अमर कृति ६० वर्षपहिले जति सान्दर्भिक र मार्गदर्शक थिए, वर्तमानमा पनि त्यति नै छन् र भविष्यमा पनि सान्दर्भिक नै रहिरहने छन् । सुम्निमा, मोदीआइन, नरेन्द्र दाई, तीन घुम्ती, हिटलर र यहुदी जस्ता कृतिमा देश, समाज, मानिसको मनोविज्ञान, नेपाली समाजको चित्रण सजीव रूपमा उतारेको पाइन्छ । नैतिकताका यी पुस्तकभित्र पनि हामी मेलमिलापका सूत्र भेट्टाउन सक्छौँ । 

Author

नन्दकृष्ण जोशी