• १४ जेठ २०८१, सोमबार

धरानमा इतिहास रच्दै स्वतन्त्र उम्मेदवार साम्पाङ्ग विजयी

blog

हर्क साम्पाङ्ग । फाइल तस्बिर

निशा राई
धरान, जेठ ८ गते। धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी हुनुभएको छ। २० हजार ८२१ मत ल्याएर साम्पाङ्ग विजयी हुनुभएको हो। उहाँले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गर्नुभएको छ। 

कांग्रेसका राईले १६ हजार ५९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहनुभएका नेकपा ९एमाले०का मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत ल्याउनुभएको छ। 

धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए। २०४८, २०५४ र २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीले नेतृत्व पाएको सहरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी  भएका हुन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार साम्पाङ्गले एमालेको लालकिल्ला र  गठबन्धनलाई पछि पार्दै  धरानमा नयाँ इतिहास रच्नुभएको हो।   


उपप्रमुखमा गठबन्धनका अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मतसहित विजयी हुनुभएको छ। एमालेका पदम इस्वो लिम्बु १७ हजार ६ सय ६ मत ल्याएर पराजित हुनुभएको छ।

२० वडा रहेको धरानमा १० वडामा एमाले विजयी भएको छ। वडा नम्बर २ मा रमेश राई, ४ मा धनबहादुर राई, ५ मा मनप्रसाद लिम्बु, ७ मा जीवन सुवेदी, ८ धनबहादुर राई, १० मा विवेक राई, १२ मा टंक राई, १३ मा नेत्र काफ्ले, १५ मा नरेश ईङनाम र वडा नम्बर १० मा एमालेका पूर्ण लिम्बुले वडाध्यक्ष जित्नुभएको छ।

यस्तै कांग्रेसले सात वटा वडामा जित निकालेको छ। वडा नम्बर १  मा यज्ञमणि आचार्य, वडा नम्बर ३ मा विद्या शाक्य, वडा नम्बर ९ मा रुपेश आचार्य, वडा नम्बर ११ लोकेन्द्र फागो, वडा नम्बर १६ मा मुरारी भट्टराई, वडा नम्बर १८ मा प्रविन राई र २० नम्बर वडामा पदम लिम्बुले वडाध्यक्ष जित्नुभएको छ।

एकएक वडामा स्वतन्त्र, माओवादी र राप्रपाले जित हासिल गरेका छन्। वडा नम्बर १४ मा राप्रपाका कृष्णप्रसाद भट्टराई, वडा नम्बर १७ मा माओवादीका मनोज भट्टराई र वडा नम्बर ६ मा स्वतन्त्रका भुपेन्द्र भट्टराई वडाध्यक्षमा विजयी हुनुभएको छ। 

धरान उपमहानगरमा १ लाख ३ हजार २४ मतमध्ये जम्मा ६२ हजार ८ सय ९८ मत खसेको थियो।