गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । भिजुअल आटर्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, सङ्घर्ष र प्रेमका गहिरा भावनालाई प्रस्तुत गरेको छ । भिडियोमा पहिचानको अभाव, प्रेम र करियरबिचको द्वन्द्व र सामाजिक सङ्घर्षलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बाको अभिनय रहेको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करिअरबिचको सङ्घर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विबिधा र कठिनाइलाई चित्रण गर्छ । मिरुनाले भुटानी नेपाली समुदायकी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोमा रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुनुहुन्छ ।