• ११ पुस २०८१, बिहिबार

तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

blog

रेसुङ्गा नगरपालिकाको कार्यालय ।

रमेश विश्वकर्मा

गुल्मी, पुस १० गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार कुल तीन हजार ७७३ जनालाई तीन करोड ५२ लाख ८० हजार ११६ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार उक्त सामाजिक सुरक्षा भत्ता एक हजार ९८१ ज्येष्ठ नागरिक, २८९ ज्येष्ठ नागरिक दलित, २८७ ज्येष्ठ एकल महिला, ५७० विधवा, ८० पूर्ण अशक्त अपाङ्गता भएका, १६३ आंशिक अपाङ्गता भएका, ४०३ बालबालिका दलितलाई वितरण गरिएको छ ।

यस अवधिमा ज्येष्ठ नागरिक परिचयपत्र ३० र अपाङ्गता परिचयपत्र १३ जनालाई वितरण गरिएको छ । 

नगरपालिकामा २६९ जनाको जन्म दर्ता गरिएको छ । ९५ जनाको मृत्यु दर्ता गरिएको छ । १६ जनाको सम्बन्ध विच्छेद र १३५ जनाको विवाह दर्ता गरिएको छ । यस नगरपालिकामा २३ परिवार सङ्ख्या बसाइसराई गरी आएका र ३४ परिवारले बसाइसराइ गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५ जना बेरोजगार सुचिकृत व्यक्तिलाई वडा बाँडफाँड गरी काममा लगाउने चरणमा रहेको नगरप्रमुख पन्थीले बताउनुभयो । त्यसमध्ये आठ जनाले केही वडाहरूमा काम गरिरहेका छन् । ७५ जना बेरोजगार सूचिकृत व्यक्तिहरूमध्येबाट ४० जनालाई सीपमूलक तालिम प्रदान गर्नेगरी सेवा प्रदायक संस्था छनाेट प्रक्रिया अगाडि बढाइएको छ ।

यसबिचमा रेसुङ्गा नगरपालिकाले तयार गरेको स्थानीय पाठयक्रम  ‘हाम्रो रेसुंगा’ मा आधारित पाठ्यपुस्तक लेखन कार्य अघि बढेको जानकारी गराउनु हुँदै सोही बमोजिम पुस्तकको पाण्डुलिपि समेत तयार भइसकेको बताउनुभयो । आगामी शैक्षिकसत्रदेखि विद्यार्थीको हातमा पुस्तक पुगाउने गरी नगरपालिका लागेको बताउनुभयो ।

‘गुल्मी अस्पताल, मेरो अस्पताल’ भन्ने नारालाई मूर्तरूप दिन गुल्मी अस्पतालमा मिर्गौला रोग पीडितका लागि जिल्लामै पहिलो पटक डायलाइसिस सेवा प्रारम्भ गरिएसँगै हालसम्म १९ जना मिर्गौलापीडितले डायलाइसिस सेवा लिनुभएको नगरप्रमुख पन्थीले बताउनुभयो । यो सेवा प्रवाह भएसँगै पाल्पा, बुटवल, काठमाडौं जाने सास्ती र उपचारका लागि बेड नपाउने समस्याबाट नागरिकहरू मुक्त हुनुभएको उहाँको भनाइ छ ।

गुल्मी अस्पतालको निर्माणाधीन भवनको निर्र्माण कार्य अन्तिम चरणमा पुगेको र पटक–पटकको ताकेतापछि बाँकी काम पूरा गरी समयमै अस्पतालको स्वीकृत क्षमताअनुसार सबै विशेषज्ञ सेवा सञ्चालन गराउन निरन्तर पहल गरिएको उहाँले बताउनुभयो । रेसुङ्गा नगरपालिकाको सहयोग, समन्वय तथा सहजीकरणमा गुल्मी अस्पतालमा सुरु भएको बिशेषज्ञसहितको हाडजोर्नी सेवाका कारण हालसम्म ५१३ जना बिरामीले शल्यक्रियासहितको बहिरंग सेवा अन्तर्गत २५ हजार ३९३ जना हाडजोर्नीका बिरामीले सेवा प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको सहयोगमा जिल्ला आँखा उपचार केन्द्रमार्फत मोतियाविन्दुको निःशुल्क अपरेसन सेवालाई निरन्तता दिइएको र यसबाट चालु आर्थिक वर्षको हालसम्म २२ जनाले मोतियाविन्दुको निःशुल्क अप्रेसन सेवा लिनुभएको छ । यस नगरपालिकाको १४ वटै वडामा सञ्चालन गरिएको अल्ट्रासाउन्ड सेवाबाट हालसम्म १२३ जना गर्भवती महिला लाभान्वित हुनुभएको नगरप्रमुख पन्थीले बताउनुभयो ।