तानसेन समाचारदाता
तानसेन, पुस १० गते । जिल्लाको पूर्वी भेगस्थित इलाका प्रशासन कार्यालय रामपुरले राहदानी र राष्ट्रिय परिचयपत्र सेवा आरम्भ गरेपछि यस भेगका सेवाग्राही लाभान्वित बनेका छन् । इलाका प्रशासन कार्यालय रामपुरमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार गरेपछि सेवा लिन सदरमुकाम तानसेन आउनु नपर्ने भएको छ । पाल्पाको पूर्वी भेगमा रहेका तीन वटा पालिकाका स्थानीय बासिन्दा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम तानसेन आउनु नपर्ने भएको छ । प्रशासनले राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरेपछि रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका केही वडाका सेवाग्राहीलाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यालयले सेवा सुरु गरेपछि यस भेगका सेवाग्राहीका लागि राहदानी र राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम तानसेनमा जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । विसं २०७३ देखि रामपुरमा इलाका प्रशासनले नागरिकता वितरण तथा अन्य सिफारिसलगायतको सेवा दिँदै आएको थियो । प्रशासनको नयाँ भवन बनेपछि थोरै कर्मचारीबाट पनि सेवा विस्तार गरिएको कार्कीले बताउनुभयो । हाल इलाका प्रशासन कार्यालयबाट दैनिक एक सयभन्दा बढी सेवाग्राहीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिसलगायतका सेवा लिइरहेका छन् । रामपुर, निस्दी र पूर्वखोला क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सेवा सुरुवात गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले दिने प्रमुख सेवा पाएपछि यस भेगका सेवाग्राहीलाई सेवा लिन सहज भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता बनाएर राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम जानुपर्ने बाध्यता थियो, अब यहीँबाट सेवा पाएपछि दुई दिन लगाएर सदरमुकाम जानु नपर्ने भयो ।” रामपुरबाटै सेवा पाएपछि सेवाग्राहीको सदरमुकाम आउजाउको खर्च जोगिएको छ भने दुई दिनको समय बचत भएको छ । सेवापछि विपन्न, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी लाभान्वित भएका छन् ।