• १० पुस २०८१, बुधबार

लालपुर्जा उपलब्ध गराउन पुनः नापी

blog

साबिकको पिपलटार गाउँ विकास फुटेर भुम्लुटार र फलाँटे बनेपछि विवादित बनेको खेतीयोग्य जमिन । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, पुस १० गते । काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराउनका लागि जिल्ला नापी कार्यालय काभ्रेपलाञ्चोकले पुनः नापी टोली खटाएको छ । साबिकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबिचको सिमाना विवादका कारण यी दुई गाविस (हाल वडा ७ र ८) का नागरिकले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको धनीपुर्जा प्राप्त गर्न सकेका छैनन् । 

सिमाना विवादका कारण ५० वर्षसम्म लालपुर्जाविहीन बनेका भुम्लु गाउँपालिका–७ र ८ का सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्ने उद्देश्यले नापी कार्यालयले विसं २०७१ जेठ २५ गतेदेखि नापी टोली गाउँमा पठाएको हो । कार्यालयले हालसम्म पटक पटक नापी टोली गाउँ पठाए पनि अहिलेसम्म मुख्य समस्या समाधान हुन भने सकेको छैन । 

५० वर्षदेखि लालपुर्जाविहीन बनेका यी दुई वडावासीको समस्या समाधान गर्न नापी कार्यालयले केही दिनअघि पुनः अर्को नापी टोली पठाएको हो । प्रमुख नापी अधिकृत अशोककुमार भुसालले भुम्लुको लालपुर्जाको समस्या समाधान गर्नका लागि दुई जना नापी अधिकृतको नेतृत्वमा दुई वटा टोलीलाई वडामा खटाइएको बताउनुभयो । वडा नं. ७ मा नापी अधिकृत इन्जिनियर मदन खत्रीको नेतृत्वमा र वडा नं. ८ मा नापी अधिकृत जयराम तामाङको नेतृत्वमा खटाइएको कार्यालयले जनाएको छ । 

प्रमुख नापी अधिकृत भुसालले टोलीले एउटा वडालाई चार भागमा विभाजन गरी चार जना वडा सदस्यलाई समेत सँगै लिएर सम्बन्धित जग्गाधनीलाई फिल्डमा नै बोलाई निवेदन सङ्कलन गर्ने, जग्गाको कित्ता पहिचान गर्ने र कित्ता अद्यावधिक गर्ने काम गर्ने बताउनुभयो । 

“गाउँमा खटिएको नापी टोलीले विसं २०३२ को नापी अनुसारको कित्तामा हाल भोगचलन गर्नेको पहिचान, सोही अनुसार कित्ता अद्यावधिक गर्ने र उनीहरूको नाममा मालपोतबाट लगत भिडाएर जग्गा दर्ता गर्ने र जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने छ,” प्रमुख नापी अधिकृत भुसालले भन्नुभयो । उहाँले गाउँमा पुगेको नापी टोलीले जग्गाधनी प्रमाणपुर्जाका लागि स्थानीयवासीको निवेदन लिएपछि उक्त जग्गाको लगत भिडाउनका लागि मालपोत कार्यालयमा पठाइने र मालपोतमा लगत भिडेको खण्डमा जग्गा दर्ता गरी लालपुर्जा दिइने बताउनुभयो । 

यसअघि विभिन्न समयमा गाउँमा पुगेको नापी टोलीलाई दुवै वडाका ८५८ जना स्थानीयले लालपुर्जाका लागि निवेदन दिएका छन् । कार्यालयमा परेका निवेदनमध्ये हालसम्म १५४ वटा धनीपुर्जा तयार भएको र करिब छ सय निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालयमा पठाए पनि हालसम्म कुनै प्रतिव्रिmया नआएको नापी कार्यालयले जनाएको छ । 

भुम्लु गाउँपालिका–७ र ८ को लालपुर्जाको समस्या बर्सौंसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति र २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङको नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो । त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्ययोजना तयार गरी पेस गर्न नापी अधिकृत इन्जिनियर ग्रीष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरेको हो । 

साबिक पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आएको जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि उक्त जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । दुई पालिकाबिच विवाद भएको करिब ५० वर्षसम्म पनि जमिनको लालपुर्जा पाउन नसकेका स्थानीयले यस पटक भने समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।