टीकापुर समाचारदाता
टीकापुर, पुस १० गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका–१ गरी १६ जना छन् ।
२०८१ मङ्सिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका–१, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो ।
मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेका थिए । उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको घार र मरेका मौरी एउटै भाँडोमा मिसाएर बेच्ने गरेका थिए ।
खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेको अनुसार बरामद गरिएको महको विश्लेषण प्रतिवेदन नेपाल सरकारद्वारा महका लागि तोकिएको अनिवार्य गुणस्तर अनुरूप नपाइएको र त्यसमा पनि फ्रुकटोज ग्लुकोज अनुपात तोकिएको अनिवार्य गुणस्तरभन्दा कम, पानीमा नघुल्ने ठोस पदार्थ तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी र हाइड्रोक्सी मिथाइल फरफुरल (एचएमएफ) तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी भएकाले दूषित प्रमाणित भएको हो ।
मह विक्रेतालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरको मुद्दा पुस ५ गते जिल्ला अदालत कैलालीमा दायर गरिएको अनुसन्धान अधिकारी लामिछानेले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी कैलालीकी खाद्य निरीक्षण अधिकारी सिर्जना चौधरीले सो महको नमुना सङ्कलन गरी अनुसन्धान गर्दा दूषित खाद्य पदार्थ प्रमाणित भएकाले मुद्दा दायर गरिएको हो ।
दुषित पदार्थ बिक्रीबापत एक वर्ष जेल वा चार लाख जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले यस आर्थिक वर्षमा दुई वटा दूषित महसम्बन्धी, दुई वटा लेबल विवरण नराखेका, अनुमति नलिएका चाउमिन, किसमिस, डेरी र एउटा गुणस्तरहीन ह्विस्कीसम्बन्धी मुद्दा दर्ता गरेको छ ।