• २१ पुस २०८१, आइतबार

गोरखापत्र संस्थान सेवाबाट श्रेष्ठको बिदाइ

blog

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी सेवा निवृत्त श्रेष्ठलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, पुस ९ गते । गोरखापत्र संस्थानको उत्पादन विभागअन्तर्गत प्रेस शाखामा कार्यरत तह ७ का वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ उमेर हदका कारण संस्थान सेवाबाट निवृत्त हुनुभएको छ । पुस ११ गते बिहीबारदेखि सेवा निवृत्त हुन लाग्नु भएका श्रेष्ठको मङ्गलबार संस्थान व्यवस्थापनले सम्मानका साथ बिदाइ गरेको छ । 

वि.सं. २०४१ वैशाख १८ गते कम्पोजिटर पदमा स्थायी सेवामा प्रवेश गर्नुभएका श्रेष्ठले संस्थानमा ४० वर्ष सात महिना १६ दिन स्थायी सेवामा रहेर कार्य गर्नुभयो । 

कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सेवा निवृत्त श्रेष्ठको योगदानको कदर गर्दै सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो । प्राविधिक सेवामा श्रेष्ठले पुर्‍याएको योगदान सधैं स्मरणीय रहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष सुवेदीले उहाँको सेवा निवृत्त बाँकी जीवन सुखी र आनन्दमय रहोस् भनी कामना गर्नुभयो । 

विदाइ कार्यक्रममा निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेल, संस्थान सञ्चालक समितिका सदस्य तथा अर्थ विभाग प्रमुख राजुकुमार महत, उत्पादन विभाग प्रमुख ओमप्रकाश भुसाल, योजना विभाग प्रमुख भगीरथ बस्नेतले सेवा निवृत्त श्रेष्ठ इमानदार, लगनशील र कर्तव्यनिष्ठ कर्मचारी रहेको चर्चा गर्दै भावी जीवन स्वस्थकर र सुखमय होस भनी कामना गर्नुभयो । 

बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका  प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका  प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन तथा सूचना प्रविधि विभाग प्रमुख रेखादेवी श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।