हरि कोइराला
उर्लाबारी, पुस ७ गते । मोरङको उर्लाबारी–६ का ४४ वर्षीय सूर्यविक्रम याक्खाले आफ्ना पुर्खाले सिकाएको सिपलाई व्यवसायमा परिणत गरेर मनग्गे आम्दानी गरिरहनुभएको छ ।
२०६६ सालदेखि घरेलु मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मर्चाको उत्पादन र बिक्री गर्दै आउनुभएका याक्खाले २०७४ मा कानुनी इजाजत लिनुभयो । कानुनी इजाजत प्राप्त नगर्दासम्म उहाँले धेरै दुःख खेप्नुभयो । परम्परागत रूपमा आफ्ना पुर्खाले सिकाएको सीपलाई प्रयोग गरेर आर्थिक उपार्जनमा लाग्नुभएका याक्खाले ०७४ सालमा ठुली माइली मर्चा उद्योग दर्ता गर्नुभयो । धेरै कमाउने सपना बोकेर १० वर्ष साउदी अरब र ४ वर्ष कतारमा पसिना बगाउनुभएका याक्खा स्वदेश फर्केपछि मर्चा उद्योगलाई व्यवस्थित बनाउन लाग्नुभयो । घरेलु मदिरा (रक्सी , तोङ्बा र जाँड ) बनाउन प्रयोग गरिने मर्चाको व्यावसायिक उत्पादन थालेपछि याक्खाको विदेश जाने सोच बदलियो ।
उर्लाबारी –६ आत्मानन्द टोलमा उहाँको उद्योग छ । नियमित ५ जना र माग बढेको बेला १५ कामदारलाई रोजगार दिएर याक्खाले उद्योग चलाइरहनु भएको छ । याक्खाको उत्पादन हाल नेपालमा मात्र नभई चीनको तिब्बत, बर्मा, भुटान र भारतको सिक्किम, दार्जिलिङ, असमसम्म जाने गरेको छ ।तर, उहाँ आफैँ विदेश पठाउनु हुन्न । एजेन्टले लान्छन् र विदेश पठाउँछन् । दैनिक सात बोरा कनिकाको पिठोमा जङ्गली जडीबुटी मिश्रण गरेर बनाइने मर्चा नेपाली भूगोलको विशुद्ध उत्पादन हो । जहाँ नेपाली छन् त्यहाँ मर्चाको माग हुन्छ । पछिल्लो समय तिब्बतमा समेत मर्चाको माग हुने गरेको सूर्यविक्रमले सुनाउनुभयो ।
हाल वार्षिक करिब १ करोड रुपियाँको मर्चा उत्पादन गरिरहनुभएका याक्खाले भन्नुभयो – सबै खर्च कटाउँदा १५÷२० लाख रुपियाँ बचत हुन्छ । राम्रो बचत हुन थालेपछि याक्खाले विदेश जाने सोच बदलेको सुनाउनुभयो ।
भाडामा जग्गा लिएर उद्योग सञ्चालन गरिरहनुभएका सूर्यविक्रमले हालसम्म उद्योगमा ८ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ । मर्चा बनाउने आधुनिक उद्योग छैनन् । विगतमा पिठो ढिकी जाँतोमा पिस्नुपर्थ्यो । अहिले मिल आफैँ राखेको छु । अरू विधि सबै परम्परागत छन् ।
पिठोमा जडीबुटी मिसाएर बाबर जस्तो बनाउँदै पातमाथि राखेर सुकाउनुपर्छ । तर एकरातसम्म गुन्द्री,गजरामा खातमाथि खात गर्दै राख्नुपर्छ । त्यसमाथि सिरक वा ब्ल्याङ्केटले छोप्नुपर्छ । त्यसपछि बास्नादार मर्चा तयार हुन्छ ।