• ८ पुस २०८१, सोमबार

क्लोनिङ भय र सम्भावना

blog

प्रत्येक वर्ष ग्रीष्म ऋतु लाग्दा शिकारीहरू मायावी ‘सेतो सुन’ को खोजीमा साइबेरियाली निर्जन द्वीपमा भौँतारिने गर्छन् । त्यो ‘सेतो सुन’ अरू केही नभएर आर्कटिक क्षेत्रको ‘पर्माफ्रोस्ट’ (धेरै वर्षसम्म शून्य वा सोभन्दा कम डिग्री तापले निकै चिसो अवस्थामा रहने भूसतह) मा पुरिएर रहेका वुली म्यामथ (हिम हात्ती) का पूर्ण विकसित दाह्रा हो र बजारमा यी दाह्राको राम्रो मूल्य पाइन्छ । १० हजार वर्षपहिलेसम्म त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा विचरण गर्ने हात्ती जस्ता देखिने वुली म्यामथका दाह्राले शिकारीलाई धनका लागि आकर्षित गरिरहेको होला तर वैज्ञानिकले देखेको महत्व बेग्लै छ, एक दिन म्यामथलाई पुनः अस्तित्वमा ल्याउने र त्यसरी नै  विश्वका लोपोन्मुख प्राणीको अस्तित्व सङ्कट निवारणमा योगदान गर्ने– क्लोनिङ विधिको प्रयोगद्वारा ।     

डलीले देखाएको बाटो

आजभन्दा करिब ३० वर्षपहिले डली नामको भेडाको जन्मसँगै जुन क्लोनिङ विधिले जेनेटिक विज्ञानमा अनेक सम्भावनाका बाटा खोलेको थियो, विश्वमा विभिन्न पशुदेखि मानव क्लोनसम्मका पटकथा लेखिएको हामी देख्न सक्छौँ । क्लोनिङका विभिन्न सम्भावनाबाट संसार सशङ्कित पनि छ, आशावादी पनि छ । सशङ्कित यस अर्थमा भन्न सकिन्छ, कुनै दिन आधिकारिक रूपमा मानव क्लोन (प्रतिरूप) नै बनाइए मानव उद्विकासको प्राकृतिक प्रक्रिया कालान्तरमा लोप भई मानव अस्तित्व नै सङ्कटमा पर्ने त होइन ! यसमा नैतिक, जातीय र धार्मिक प्रश्न त उठिरहेकै छन् । चाल्र्स डार्बिनको प्राणी उद्विकासका सिद्धान्तसमेत ‘हो र !’ मा सीमित हुने छ । 

क्लोनिङले दिएको आशाज्योतिको कुरा गर्दा हाल असाध्य मानिएका रोग, अङ्गभङ्ग हुँदाको अवस्था, जन्मजात हुने वंशाणु बिकार तथा मिर्गौला, मुटु, कलेजो आदि हाम्रो शरीरका महत्वपूर्ण अङ्ग काम नलाग्ने हुँदा तिनको उपचार सजिलै हुने छ । यसर्थ क्लोनिङ दुईधारे तरबार हो । बेलायतका प्रसिद्ध इभोल्युनरी बायोलोजिस्ट र जुलोजिस्ट रिचर्ड डकिन्सको भनाइ यहाँ मननीय देखिन्छ, “क्लोनिङ राम्रो हुन सक्छ र नराम्रो पनि । सकभर दुवै किसिमको होस् । यस प्रश्नको जवाफ हामीले शान्तिपूर्वक, गम्भीर भाव र त्यसका गुण दोषका आधारमा दिनु पर्छ । लहडमा होइन । हामीले भावनामा बग्नु हुँदैन र यसमा धेरै विचार गरिनु आवश्यक छ ।”

सन् १९९६ मा भेडाको क्लोनका रूपमा डलीको जन्म भएदेखि चिकित्सा क्षेत्रमा औषधोपचारको अचुक उपायको विकास हुने सम्भावनाका रूपमा क्लोनिङ पद्धतिलाई हेरिएको छ तर यो विधि अनियन्त्रित भएर गलत हात र उद्देश्यले मानव क्लोन त बनाइने होइन भन्ने आशङ्का उतिबेला नै गरिएको थियो । आशङ्का छँदै छ झसङ्ग पार्ने काम भइसकेको छ । मानव उद्विकासका स्थापित मान्यतामा विश्वास नगर्ने एक सम्प्रदाय छ पश्चिमा देशमा– रेलियन । यसले डलीको जन्मलगत्तै आफूले मानव क्लोन बनाइसकेको दाबी ग¥यो तर यसको सत्यापन हुन सकेको छैन ।

रेलियनले जेजस्तो कुरा गरेको होस् वैज्ञानिकले प्राणीमा क्लोनिङको अनुसन्धान गरिरहेकै छन् । खरायो, कुकुर, मुसा, सुँगुरमा क्लोनिङ परीक्षण भइरहेको छ । लोप भइसकेका जनावरलाई अस्तित्वमा ल्याउने प्रयाससमेत नभइरहेका होइनन् । हिमहात्ती र लोप भएको अर्को जीव म्याडागास्करको डोडो चराको क्लोन बनाउनमा वैज्ञानिक प्रयास जारी छ ।

वैज्ञानिकले अहिलेलाई म्यामथमै ध्यान बढी केन्द्रित गरेका छन् । रुसको साइबेरियाली क्षेत्रमा म्यामथका दाह्रा धेरै पाइएको छ तर त्यसको जीवित कोषचाहिँ पाउन सकिएको छैन । पछिल्लो हिमयुगकालका दाह्राको बजार मूल्य जेसुकै होस् वैज्ञानिक समाजले जेजस्तो प्रयत्न गर्ने सुरसार गरेको छ त्यससँग त्यसको तुलना हुन सक्दैन । हलिउडको चलचित्र ज्युरासिक पार्क शैलीसरह वैज्ञानिकले वास्तविक जीवनमै वुली म्यामथलाई जन्म दिएर अस्तित्वमा ल्याए कस्तो होला !, विज्ञान यसैमा अनुसन्धान गरिरहेको छ र यो बाटो देखाउने काम गरेको छ क्लोनिङ विधिले । 

सन् २०१५ मा हार्वर्ड विश्वविद्यालयका मोलिक्युलर इन्जिनियर र जेनेटिक्स जर्ज चर्चले म्यामथ जन्माउने कोसिस गरेका थिए तर उनले त्यसका लागि क्लोनिङ विधि नअपनाएर हाइब्रिड तरिका अपनाए । जसका लागि म्यामथको नजिकको परिवार एसियाली हात्ती (म्यामथसँग ९९ प्रतिशत डिएनए मिल्छ ।) को डिएनए प्रयोग गरी ‘सिन्थेटिक बायोलोजी’ द्वारा म्यामथ जन्माउने प्रयास हालसम्म सफल हुन सकेको छैन । म्यामथका दाह्रा त पाइएका छन् तर त्यसको जीवित कोष पाउन नसकिएकाले क्लोनिङबाट जन्मिएको म्यामथ हामीले देख्न पाएका छैनौँ ।

क्लोनिड पद्धति

क्लोनिङको विधिले महिलालाई गर्भधारण गराउँदा शक्रकीट आवश्यक पर्दैन । अर्थात् गर्भधारणका लागि पुरुषको भूमिका चाहिँदैन । प्राकृतिक प्रजनन तथा टेस्टट्युब प्रजनन प्रक्रियाभन्दा बेग्लै क्लोनिङ पद्धतिले गर्भधारण गराउँदा शरीरको कुनै कोष प्रयोग गरिन्छ । जो स्वयं सम्बन्धित व्यक्तिको वा दाताको पनि हुन सक्छ ।

नेसनल ज्योग्राफिकले भनेको छ, क्लोनिङ यस्तो विधि हो जसबाट  वैज्ञानिकले जीवित तन्तुबाट सटिक जेनेटिक प्रतिलिपि तयार पार्छन । जिन, कोष, तन्तु तथा सम्पूर्ण प्राणीलाई समेत क्लोन गर्न सकिन्छ । प्राकृतिक प्रजनन पद्धतिलाई हेर्दा प्रकृतिमा केही क्लोन पहिले नै अस्तित्वमा रहेका छन् । ब्याक्टेरिया जस्ता एकल कोषीय जीवले प्रत्येक पटक प्रजनन प्रक्रियामा स्वयं आफ्नो हुबहु प्रतिलिपि तयार पार्ने गरेको स्पष्ट नै छ । मानिसमा हुबहु मिल्ने जुम्ल्याहासमेत क्लोन जस्तै हुन् । उनीहरूमा लगभग सबै जिन समान हुन्छ । जब निषेचन भएको अण्ड दुई भागमा विभाजित हुन पुग्छ समरूपी जुम्ल्याहाको जन्म हुने गर्छ ।

मानिसमा क्लोनिङको कुरा गर्दा अनुसन्धानले भनेको छ, महिलाको छालाको कोषबाट डिएनए समाहित न्युक्लियसलाई झिकेर महिलाको अण्डमा स्थानान्तर गर्नु पर्दछ । स्थानान्तर गर्नुअधि अण्डको न्युक्लियसलाई हटाइनु आवश्यक छ । यसले यौन प्रजनन तथा कृत्रिम प्रजनन प्रक्रियामा शुक्रकीटको आवश्यकता पर्छ तर क्लोनिङमा शुव्रmकीट चाहिँदैन ।

वैज्ञानिकले प्रयोगशालामा क्लोन पनि बनाउँछन् । उनीहरूले जिनको अध्ययन गर्न र तिनलाई अझै राम्ररी बुझ्न प्रायः तिनको क्लोन बनाउने गरेका छन् । एक जिनको क्लोन तयार पार्न अनुसन्धानकर्ताहरू जीवित प्राणीबाट डिएनए झिक्छन् र त्यसलाई ब्याक्टेरिया वा ढुसीसरहका वाहकमा प्रत्यारोपण गर्छन् । जति पटक ती वाहकको प्रतिलिपि तयार हुन्छ त्यति पटक जिनको पनि नयाँ प्रतिलिपि बन्दछ ।

तर प्राणीमा क्लोनिङको दुई विधि छन् । पहिलो विधि हो ‘इम्ब्रियो ट्विनिङ’ । यस अन्तर्गत वैज्ञानिकले सर्वप्रथम कोष अवस्थाको भ्रूणलाई दुई भागमा विभाजित गरेर दुवैलाई पोथीको पाठेघरमा राख्छन् । यसरी राखिएका दुवै भाग विशिष्ट खालको जीवमा विकसित हुन्छन् र दुवैको जिनचाहिँ समान हुन्छ ।

क्लोनिङको दोस्रो विधिलाई ‘सोम्याटिक सेल न्युक्लियर ट्रान्सफर’ भनिन्छ । ‘सोम्याटिक सेल’ यस्ता कोष हुन् जसले प्राणीको शरीर बनेको हुन्छ तर यी अण्ड र शुक्रकीट कोषचाहिँ होइनन् । शुक्रकीट र अण्डकोषमा एक जोडी क्रोमोजोम मात्र रहेको हुन्छ र निषेचनको क्रममा यी कोष जब आपसमा समाहित हुन्छन् पोथीको क्रोमोजोम भालेको क्रोमोजोममा गाभिन्छ । अर्कोतिर सोम्याटिक कोषमा चाहिँ क्रोमोजोमका दुई पूर्ण जोडी रहेको हुन्छ ।

वैज्ञानिकले क्लोन तयार पार्न पशुको सोम्याटिक कोषबाट डिएनए झिकेर त्यसलाई न्युक्लियस र डिएनए हटाइएको अण्डकोष (एग सेल) मा प्रत्यारोपण गर्छन् । यसरी सम्पादन गरिएको अण्ड एउटा भ्रूणमा विकसित हुन्छ र त्यसमा दाताको सबै जिन रहन्छ । त्यसपछि त्यस भ्रूणलाई विकसित गर्न वयस्क पोथीको पाठेघरमा प्रत्यारोपण गरिन्छ ।

रेलियन सम्प्रदाय

रेलियन सम्प्रदायको स्थापना रोचक ढङ्गले भएको छ । सन् १९७३ डिसेम्बर महिनामा फ्रान्सेली पत्रकार क्लोड भोरियोनलाई अन्य ग्रहको प्राणीले भेटेर पृथ्वीमा मानवको सिर्जना डिएनएको प्रयोगद्वारा क्लोनिङ गरी बनाइएको जानकारी दिएको मत रेलियन सम्प्रदायको छ । कथित रूपमा अज्ञात ग्रहको प्राणीले पृथ्वीमा आफ्नो संसारका प्राणीको स्वागत गर्ने जिम्मा क्लोडलाई दिएको र उनले नै पछि गएर रेलियन सम्प्रदायको स्थापना गरेका हुन् ।

रेलियन सम्प्रदायले भनेको छ, बाह्य संसारका प्राणी चार फिट अग्ला, लामो कपाल, चिल्लो छाला र बदाम आकारको आँखा भएका थिए । उनीहरूले पृथ्वीमा मानवको सिर्जना आफूहरूले गरेको कुरा क्लोडलाई बताए । रेलियन सम्पदायका अनुयायीहरू पृथ्वीमा मानव उद्विकास चाल्र्स डार्बिनने भने जस्तै जीव उद्विकासवादी सिद्धान्त अनुरूप नभएर पृथ्वीमा अकस्मात् करिब २५ हजार वर्षपहिले क्लोनिङद्वारा मानिस जन्माइएको विश्वास गर्छन् ।

क्लोनिङद्वारा नै मानिसलाई अमर बनाउन सकिने धारणा छ रेलियन सम्प्रदायको । यस सम्प्रदायले भनेको छ, “मानव क्लोनिङपछि जीवित मानिसको मस्तिष्कलाई उसको क्लोनमा विकसित गरेर मानिसलाई अमर बनाउने सकिन्छ ।”

पहिलो क्लोन डली जन्माइएको एक वर्षपछि नै मानव उद्विकासलाई आफ्नो ढङ्गले व्याख्या गर्न सन् १९९७ मा रेलियनले बहामासमा क्लोनेडको स्थापना गरी क्लोनिङलाई आफ्नो विचारले परिभाषित गरिरहेको छ ।

हजारौँ वर्षपहिले बाह्य अन्तरीक्षबाट आएका प्राणीले क्लोनिङद्वारा पृथ्वीमा मानिस जन्माएको विश्वास गर्ने रेलियन्स सम्प्रदायद्वारा स्थापित क्लोनेडले डली जन्माइएको लगत्तै मानिसको दुई क्लोन जन्माइएको घोषणा गरेर मानव आकाङ्क्षा र उत्सुकतालाई सीमामा राख्न नसकिने स्पष्ट पा¥यो । यसले विवादको एक शृङ्खला नै सिर्जना भयो ।

विवादको पहिलो पक्ष हो, क्लोनेडले दाबी गरेको क्लोनिङमा सत्यता छ कि छैन । किनभने मानव क्लोनको डिएनए परीक्षण गराउन उसले मानेन । जसले यसलाई प्रचारबाजीको एक हत्कण्डा मात्र मानियो । विवादको दोस्रो पक्ष हो, यदि वास्तवमै मानिसको क्लोन बनाइएको हो भने चिकित्सा उद्देश्यभन्दाबाहेक क्लोनिङ पद्धतिको प्रयोग मानिसको क्लोन बनाउन हुन्न भन्ने सर्वमान्यताको उल्लङ्घन र बेरोकटोक प्रयोग ।

साथै पशुमा गरिएका अनुसन्धानले स्पष्ट नै छ करिब ३० वर्ष भइसक्दा पनि क्लोनिङ पद्धति विश्वासिलो हुन सकेको छैन । जन्मेका बच्चामा के कस्ता जेनेटिक कमजोरीहरू रहेका छन् वा रहने हुन् भन्ने विषयमा अझै पनि धेरै कुरा खुल्न बाँकी नै छ । विभिन्न जीवको क्लोन बनाई परीक्षण गर्दा क्लोनिङमा असफलताको दर धेरै छ र सन्तोषजनक परिणाम कुनै पनि परीक्षणमा प्राप्त गर्न सकिएको छैन ।


मावन क्लोन

कथित रूपमा क्लोनेडले अहिलेसम्म दुई मानव क्लोन बनाएको छ । क्लोनेडले ३१ वर्षीय अमेरिकी महिलाबाट पहिलो क्लोन जन्माएको थियो । त्यसपछि नेदरल्यान्ड्सको महिला समलिङ्गी दम्पतीले क्लोनेडको सहयोगबाट अर्को क्लोन जन्माए । पहिलो मानव क्लोनको नाम इभ राखियो । क्लोनेडको शोध टोलीले क्लोनिङ प्रक्रियाद्वारा सयौँ भ्रूण सिर्जना गरेर १० जना महिलामा भ्रूण प्रत्यारोपण गरे पनि पाँच परीक्षण मात्र सफल भएको थियो ।

मानव क्लोनिङमा विवाद

क्लोनेडको कथित मानव क्लोन बनाएको कार्यले क्लोनिङ प्रक्रियामा उत्पन्न भएका विवादलाई चर्काएको थियो । एकातिर पशुमा परीक्षण गरिनु हुन्न भन्ने प्राणी संरक्षणवादीहरू क्लोनिङको विपक्षमा छन् भने मानव क्लोनिङलाई नैतिकता, प्राकृतिक सन्तुलन, जातीयता, धार्मिक र मानव विकासको सन्तुलित प्रक्रियाको विपरीत पक्षका रूपमा समेत हेरिएको छ ।

अर्को कुरा कोषीय पद्धतिमा भर पर्नुपर्ने भएकाले कोष समय अनुसार पाको हुँदै जान्छ । जति उमेरको व्यक्तिको कोष प्रयोग गरिएको छ क्लोन पनि जन्मने बेला त्यही उमेरको हुने तथ्य डलीको परीक्षण गर्दा नै थाहा भएको थियो । सुरुमा थाहा भएन तर पछि डिएनए परीक्षण गर्दा डलीको शरीरका कोषहरू जन्मजात छ वर्ष उमेर पुगेको पाइए । अर्थात् डलीको उमेर जन्मको बेला नै छ वर्ष थियो ।

क्लोनिङले अनेक सम्भावना देखाएको छ । मूलतः रचनात्मक प्रयोग वा लहड र अनियन्त्रित परीक्षणले क्लोनिङद्वारा मानव सभ्यताको बाटो निर्धारण गर्ने छ । क्लोनिङको गलत प्रयोग विनाशकारी हुने छ तर रचनात्मक प्रयोगले मानिसमा वर्षौंदेखिका असाध्य रोग, वंशाणु विकार आदिबाट पार पाउन सकिने छ । साथै पारिस्थितिक प्रणालीका कतिपय लोपोन्मुख तथा लोप भएका सदस्यलाई संरक्षण र पुनः अस्तित्वमा ल्याउन सफलता मिल्ने छ ।

यस्तै खालका सम्भावना विश्लेषण गरेर जर्मनी, रुस, फ्रान्सलगायत विश्वमा ३० भन्दा बढी देशले सबै खालका मानव क्लोनिङमा प्रतिबन्ध लगाएका छन् । इजरायल, बेलायत, जापानलेचाहिँ प्रजनन प्रयोजनका लागि क्लोनिङमा प्रतिबन्ध लगाए पनि उपचारात्मक क्लोनिङ परीक्षणलाई खुला राखेका छन् ।

मननीय छ, क्लोनिङको इतिहास ३० वर्ष पुरानो भइसक्दा पनि नेपालसँग न त क्लोनिङको कुनै पूर्वाधार छ न त यहाँ कुनै कानुनले यसलाई सम्बोधन गरेको देखिन्छ । 

– उमेश ओझा  

–युवामञ्च