• १९ असार २०८१, बुधबार

कैलालीमा रेशम चौधरीको पार्टीलाई आकर्षक मत

blog

टीकापुरका मेयरमा निर्वाचित रामलाल डङ्गौरा थारुको साथमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी। तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी
धनगढी, जेठ ७ गते। १३ स्थानीय तह रहेको कैलालीमा १२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म चार पालिकामा विजयी हुँदै नागरिक उन्मुक्ति पार्टी पहिलो शक्ति बनेको छ। टीकापुर, भजनीमा मेयर र उपमेयर दुवै पद उन्मुक्ति पार्टीले जितेको छ। 

जोशीपुर गाउँपालिकामा काँग्रेसकाे गढ भत्काउँदै अध्यक्ष, उपाध्यक्ष दुवै र जानकी गाउँपालिकामा गठबन्धनलाई पाखा लगाउँदै अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ। 

१२ पालिकाको नतिजा आउँदासम्म नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरेर तीन पालिका जितेको छ। नेकपा (एमाले)ले चुरे र बर्दगोरिया गरी दुई, नेकपा (माओवादी केन्द्र)ले गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिका गरी दुई पालिकामा प्रमुख जितेका छन्। यसैगरी, नेकपा (एकीकृत समाजवादी) ले घोडाघोडी नगरपालिकामामात्रै प्रमुखमा जित हात पारेको छ। 

अन्तिम नतिजा आउन बाँकी रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक हुनुहुन्छ। 

नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु निर्वाचित हुनुभएको छ। उहाँले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई तीन हजार मतान्तरले पराजित गर्नुभयो। थारुले नौ हजार ६४२ मत प्राप्त गर्नु भएको छ। 

यसैगरी, भजनी नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजार ७६८ मतान्तरले पराजित गरेर नागरिक उन्मुक्तिका केवल चौधरी मेयरमा विजयी हुनुभयो। उहाँले आठ हजार ९६६ मत प्राप्त गर्नुभयो। 

उपमेयरमा सोही पार्टीका राजुदेवी तिरुवा सात हजार ६२२ मत पाएर विजयी हुनुभएको छ। उहाँले नेपाली काँग्रेसका गोकेन्द्र भण्डारीलाई तीन हजार १३२ मत बढी ल्याउनुभएको छ।

यस्तै, नेपाली काँग्रेसको गढ मानिएको जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी विजयी भयो। नेपाली काङ्ग्रेसका बन्सराम बडायकलाई एक हजार ५३५ मतान्तरले पराजित गरी अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभयो। उहाँले चार हजार ९०३ मत प्राप्त गर्नुभयो। 

उपाध्यक्षमा चार हजार ५८१ मत प्राप्त गरेर रेखादेवी कठरिया विजयी हुनुभयो। उहाँले ६२० मतान्तरले माओवादी केन्द्रका दीर्घराज बिनाडीलाई पराजित गर्नुभयो। 

जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी सात हजार १५१ मत पाएर अध्यक्षमा विजयी हुनुभयो। उहाँले एक हजार ९०९ मतान्तरले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार परशुराम महतौं (कठरिया) लाई पराजित गर्नुभयो। 

उपाध्यक्षमा छ हजार ५६२ मत पाएर नागरिक उन्मुक्ति पार्टीकै लालमतिदेवी कठरिया विजयी हुनुभयो। उहाँले एक हजार ७०४ मतान्तरले नेकपा (एमाले) का गीता चौधरीलाई पराजित गर्नुभयो।

 २०७८ पुस २० मा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो। यसको नेतृत्व रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले गरिरहनुभएको छ। नागरिक उन्मुक्ति पार्टीले फागुनमामा चुनाव चिन्ह पाएको थियो।