• १५ असार २०८१, शनिबार

अभिभावकबिहीन बालबालिकाको सम्पूर्ण शैक्षिक खर्च पालिकाले बेहोर्ने : अध्यक्ष

blog

रेखीराम राना   
पाल्पा, जेठ ७ गते ।
पाल्पाको माथागढी गाउँपालिकाका नवनियुक्त अध्यक्ष यमबहादुर चिदीले अभिभावकविहीन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी पालिकाले लिने निर्णय गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको चिदीले पदवहाली गर्दै सो निर्णय गर्नुभएको हो ।

अभिभावकविहीन बालबालिकाको पढाइ लेखाइ, पोशाक तथा शिक्षासम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा चिदीले पदबहालीसँगै हस्ताक्षर गर्नुभएको हो ।

माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व स्थानीय सरकार मातहत रहेकाले अभिभावकविहीन बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि उनीहरूको शिक्षा लिने अधिकारलाई निरन्तरता दिन यस्तै निर्णय लिइएको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।  अध्यक्ष चिदीले जनताको चाहना र आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार काम गर्ने पनि बताउनुभएको छ ।

उहाँले विगतका जनप्रतिनिधिले अघि सारेका अधुरा योजनालाई पूरा गर्ने र निर्वाचनका बेला आफूहरूले अघि सारेका योजनालाई अघि बढाएर नमूना पालिका बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले निर्वाचनका बेला विचार र आस्थाका आधारमा आफूहरूले मत पाएपनि अबभने सबै नागरिकलाई समान व्यवहार गरेर अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

जनप्रतिनिधिको सपथग्रहण तथा निवर्तमान जनप्रतिनिधिको बिदाई कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित जनप्रतिनिधिलाई आपसी सहकार्य र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, बगनासकालीका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पनि अध्यक्षको पदग्रहण गर्नुभएको छ ।