प्युठान समाचारदाता
प्युठान, पुस ६ गते । प्युठानको झिमरुक गाउँपालिकामा झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माणको काम अघि बढेपछि सहज आवतजावत हुने भन्दै स्थानीय खुसी भएका छन् ।
झिमरुक गाउँपालिका–६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडकखण्ड अन्तर्गत झिमरुक नदीमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । “बर्सौंदेखिको स्थानीयको माग पूरा भएको छ,” स्थानीय इन्द्रमणि पोख्रेलले भन्नुभयो, “पुल बनेपछि गाउँमा बाह्रै महिना यातायात चल्ने छ ।” पुल नहुँदा अहिले झिमरुक नदी तरेर सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । पुल बनेपछि हिड्डाँडा, तुषारा, दिहाल्ना, खवाङ, पुँजा, लिवाङ, रजवारासम्मका नागरिकलाई फाइदा पुग्ने छ ।
लुम्बिनी प्रदेश अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय प्युठानमार्फत पुल निर्माण कार्य अघि बढेको हो । चार करोड ८७ लाख ६३ हजार ४४८ रुपियाँ लागतमा पुलको ठेक्का लागेको कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।