रामेछाप समाचारदाता
रामेछाप, मङ्सिर ६ गते । रामेछाप जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ उमाकुण्ड गाउँपालिका–१, गुम्देलका नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिका–१, गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गर्नुभएको छ ।
घुम्ती शिविरको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष सुनुवारले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवालाई वडा तहमै प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उमाकुण्ड गाउँपालिका–१, गुम्देल जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ पनि हो । यहाँका नागरिकलाई नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रको विवरण भर्नेसहित गाउँपालिकाको सेवा दिने गरी शिविर सञ्चालन गरिएको हो । गुम्देलबाट सुरु भएको एकीकृत घुम्ती शिविर गाउँपालिकाको सात वटै वडामा सञ्चालन गर्ने लक्ष्य छ ।”
शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने, व्यवसाय दर्ता, व्यवसाय इजाजतपत्र, अपाङ्गताको परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा योजना सम्झौतालगायतका काम भएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार सोमबार गुम्देलमा सञ्चालन भएको शिविरमा ३० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ५७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् । एक जनाले व्यवसाय दर्ता, एक जनाले व्यवसाय इजाजत, एक जनाले पुँजी वृद्धि तथा एउटा योजना सम्झौता गरेको र एक जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको उद्यम विकास सहजकर्ता कार्कीले बताउनुभयो ।