चितवन समाचारदाता
चितवन, पुस ६ गते । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको नगर अस्पतालमा अत्याधुनिक मेसिनबाट परीक्षण सुरु भएको छ । जिल्लाका अन्य ठुला अस्पतालमा जान नपर्ने गरी नगरपालिकामा सञ्चालनमा रहेको अस्पातलमा नै प्रभावकारी परीक्षण सुरु भएको हो । थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण गर्ने मेसिन प्रयोगमा ल्याइएको छ । यसअगाडि परीक्षण गर्न जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको थियो । अहिले आधुनिक मेसिन ल्याएर सेवा दिन
थालेपछि सदरमुकाम जानुपर्ने बाध्यता हटेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
२०७४ सालबाट स्वास्थ्य बिमा सुरु गरेको नगर अस्पतालले सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । दैनिक २५० जना बिरामीको उपचार गर्दै आएको अस्पतालमा प्रयोगशाला विस्तार र टोकन प्रणालीको समेत सुरुवात गरिएको छ । टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्न टोकन सिस्टमको सुरुवात गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले प्रदान गरेको २२ लाख रुपियाँ मूल्य पर्ने अत्याधुनिक मेसिन प्रयोगशालामा जडान गरिएको छ ।
आधुनिक मेसिन जडानपछि भएको कार्यव्रmममा कालिका नगरपालिकाका प्रमुख रेग्मीले अस्पतालको सेवालाई विस्तार र समयानुकूल बनाउँदै लैजाने बताउनुभयो । कालिकावासीको जीवनरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नगर अस्पतालमै जटिल प्रकारका रोगको समेत उपचार हुने गरी सेवा परिष्कृत गर्दै लैजाने जानकारी दिनुभयो ।
विशेषज्ञ चिकित्सकको सङ्ख्या वृद्धि गर्दै नगरवासीको उपचारका लागि जिल्लाका अन्य अस्पतालमा जान नपर्ने गरी सेवा सुधार गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । उहाँले नगरभित्रका विपन्न समुदायको उपचारमा पहुँच पु-याउन निःशुल्क स्वास्थ्य बिमा कार्यव्रmमलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यो वर्ष करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो ।
सरकारले २०७६ सालमा जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल निर्माण गरेको थियो । अस्पताल घोषणा भएपछि चिकित्सकको दरबन्दी थप गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको हो । हाल सो अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर जीवन खरेलसहित छ जना मेडिकल अधिकृत तहका चिकित्सक कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ चिकित्सकले समेत सेवा दिँदै आएका छन् ।
हाल ४० जना कर्मचारी कार्यरत अस्पतालले ओपिडी, आकस्मिक, प्रसूति, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, रेबिजविरुद्धको भ्याक्सिन दिँदै आएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. जीवन खरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उपचार गर्न आएका बिरामीलाई सकभर रिफर गर्न नपर्ने गरी स्वास्थ्य सेवा प्रदान गरेका छौँ । उपचारमा आएका १० प्रतिशत मात्र बिरामी रिफर भएर अन्य अस्पतालमा जाने गरेका छन् ।” स्थानीय सरकारको सहयोगका कारण एकपछि अर्को गरी स्वास्थ्य सेवालाई परिष्कृत गर्दै आएको जानकारी दिनुभयो ।
१५ श-याको अस्पतालमा पाँच वटा श-या आकस्मिक कक्षामा रहेका छन् । चौबिसै घन्टा सेवा प्रदान गर्दै आएको अस्पतालमा कालिका नगरपालिकाले नगरभित्रका करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।