• ९ मंसिर २०८१, आइतबार

मैदानबाट (कविता)

blog

साम्ब ढकाल

 

हो यो त्यही मैदान हो

जहाँ हामीले उछलकुद गर्दैगर्दा

सायदै तिम्रो जन्म भएको थियो ।


हो यो त्यही मैदान हो

जहाँ हामीले पदक जित्दा

तिमीलाई खेल के हो थाहै थिएन ।


हो यो त्यही मैदान हो

जहाँ हामीले ट्रफी उचाल्दा

तिमी त्यतै कतै छेउछाउमा उभिएर 

ताली पिट्दै थियौ ।


हो यो त्यही मैदान हो

जहाँ तिमीलाई उफ्रिपाफ्रीदेखि

यो खेल यसरी/त्यो खेल त्यसरी

खेल्नुपर्छ भनिरह्यौँ ।


हो यो त्यही मैदान हो

जहाँ तिमीले देख्दादेख्दै धेरै खेल सिक्यौ

पदक, कप जित्दै गयौ, जित्दै गयौ

हामीले अझै सिकाउँदै गयौँ ।


हठात् कताबाट तिमीमा 

सबै खेल त्यत्तिकै जित्ने अहम् पलायो

केही सिक्नै नपर्ने भ्रमले जलायो 

ए त्यसो नगर/नभन भन्यौ भनिरह्यौँ ।


त्यो मैदानमा तिम्रा खेल खेल्ने 

तौरतरिका अर्कै देखिन थाल्यो

तिमी खेल्नभन्दा रमाउनमा 

सहभागी हुन थाल्यौ

खेल अर्कैले जित्दै गयो ।


अहिले आएर छयाङ्ग भएको छ–

राम्रा प्रतिभाको छनोटमा 

हामी दङ्ग होइन भ्रममा रहेछौँ 

तिमीले खेलको सट्टा झेल पो खेल्न थालेछौ

हुँदाहुँदा तिम्रा खेल हेर्नै मन लाग्न छोड्यो ।


हेर त अब हामी मैदानमै जाँदैनौँ

त्यसपछि त जस्तो खेले पनि भयो

मैदान नै खाली भएपछि

जे खेले पनि भयो होइन त ?


मैदानमा अहिले

अर्कै खेलाडीको बोलवाला छ

हामी त्यही मैदान छेउछेउ हिँडिरहेछौँ ।