• ३ पुस २०८१, बुधबार

कर्णालीमा घट्यो धान उत्पादन

blog

नवीन सुवेदी

सुर्खेत, पुस ३ गते । कर्णाली प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत वर्षभन्दा यस वर्ष एक हजार १७४ मेट्रिक टनले उत्पादनमा कमी आएको हो ।  

मन्त्रालयका अनुसार प्रदेशभर यस वर्ष एक लाख २३ हजार ७९५ मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेशको ३९ हजार ७६३ हेक्टर जमिनमा धान खेती भएको थियो । गत वर्ष एक लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष सुर्खेतमा सबैभन्दा बढी ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसपछि दैलेखमा २५ हजार १२० र सल्यानमा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भयो । 

विवरण अनुसार प्रदेशका हिमाली जिल्ला डोल्पा र हुम्लामा धान उत्पादकत्व निकै कम छ । डोल्पामा १९९ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ३५० मेट्रिक टन धान उत्पादन भएको छ । ५८५ हेक्टर क्षेत्रफलमा खेती भएको मुगुमा ९७५ मेट्रिक टन उत्पादन भएको छ ।  


यस्तै हुम्लामा एक हजार ३६, जुम्लामा छ हजार ३९५, कालीकोटमा पाँच हजार पाँच सय, रुकुमपश्चिममा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ । यसै गरी सल्यानमा २३ हजार ६३० र जाजरकोटमा आठ हजार ७९५ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । 

यस कारण घट्यो उत्पादन

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उत्पादन घट्नुको मुख्य कारण आवश्यक जनशक्ति विदेश पलायन हुनु हो । कर्णालीका अधिकांश युवा रोजगारीको सिलसिलामा कालापहाडदेखि विभिन्न मुलुकमा पुगेका छन् ।

अर्को कारणमा बरु चामल किनेर खाउँला भन्ने प्रवृत्ति हाबी भएपछि खेती गर्ने किसानको सङ्ख्या कम हुँदै गएको उहाँले बताउनुभयो । “अहिले धाने जिउलाहरू बाँझो छन्,” उहाँ भन्नुहुन्छ्, “अर्को समयमा पानी नपर्नु, अझै पनि परम्परागत धान खेती गर्नुदेखि रोगको प्रकोप रोक्न नसक्दा उत्पादनमा ह्रास आएको देखिन्छ ।”

प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी बढाइरहँदा उत्पादकत्व घट्नुका साथै कर्णाली खाद्यमा परनिर्भर हुँदै गएको छ । मन्त्रालयका अनुसार उन्नत बिउमा समेत प्रदेश सरकारले अनुदान दिने गरेको छ । तथ्याङ्कलाई केलाउने हो भने कर्णालीमा उत्पादन भएको धानको चामलले कर्णालीका सबैजसो नागरिकलाई छ महिना पनि खान पुग्दैन ।

कर्णालीमा कुल दुई लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । दुई लाख १६ हजार ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । त्यसमा पनि ४५ हजार ४६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती हुन्छ ।  तथ्याङ्क अनुसार डोल्पामा २७६, मुगुमा चार हजार ४२०, हुम्ला ६१०, जुम्लामा दुई हजार नौ सय, कालीकोटमा तीन हजार ८१, रुकुमपश्चिममा तीन हजार ४८, सल्यानमा सात हजार ७८, जाजरकोटमा तीन हजार ६३, दैलेखमा आठ हजार ३१३ र सुर्खेतमा १२ हजार ६७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । 

यद्यपि खेती हुने सबै जमिनमा अहिले धान खेती भइरहेको छैन । सहरी क्षेत्रमा धान खेती हुने जमिन अतिक्रमण भइरहेको छ भने दुर्गम क्षेत्रमा सिँचाइ अभाव, किसानले धान खेती लगाउन छाड्दै जानुले धान खेतीको विस्तार हुन नसकिरहेको र अर्कातिर उत्पादन घट्दै गएको कृषि अधिकृत थापाले बताउनुभयो । कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुग्छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाइ हुने क्षेत्रमा पर्छ । समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा छ ।