• १९ असार २०८१, बुधबार

खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वान

blog

काठमाडौं, जेठ ६ गते। खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्त्व बढ्दै गएको बताउनु भएको छ।

 संयुक्त राष्ट्र संघअन्तर्गतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। 

मन्त्री चौधरीले जलवायु परिवर्तनको असरबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्यूनीकरण गरेर दिगो समाधान गर्न उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाइको आदान प्रदान गर्न सम्मेलनले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाइलेन्स’ विषयमा भएको छलफलमा बोल्दै मन्त्री चौधरीले संघीय प्रणाली अनुरुप खानेपानी सरसफाइ र स्वच्छता सेवामा प्रभावकारिता कायम गर्न तथा चुनौतीको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्यमा जोड दिनुभयो। 

मन्त्री चौधरीले कार्यक्रममा सहभागी विकास साझेदारहरुलाई नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभयो। सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली जकार्ता गएको थियो।