गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया सरकारलाई भैरहवाबाट सिधा उडानको प्रस्ताव गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार एवं बिदाइ भेटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको हो ।
उक्त अवसरमा पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणलगायतका विषय चर्चा गर्दै मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीलाई दिएको सहुलियतबारे समेत जानकारी गराउनुभयो ।
मन्त्रीको सचिवालयका अनुसार भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थल जोड्ने गरी बौद्ध सर्किटको विकास गर्न, पर्यटन प्रवर्धनका लागि दुवै देशबिचमा कला, सङ्गीत र साहित्यसम्बन्धी सहकार्य र साझेदारी गर्न सकिनेबारे छलफल भएको छ ।
यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायतका विषयमा समेत छलफल भएको छ ।