सिराज खान
नेपालगन्ज, मङ्सिर ३० गते । जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगतको अभाव बढ्दै गएको जानकारी गराएपछि कार्यक्रम आयोजना गरेर ५१ पिन्ट रगत सङ्कलन गरिएको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले जानकारी दिनुभयो ।
उहाँले फाउण्डेशन र जनमत अर्ध साप्ताहिकको आग्रहमा ५१ जना स्वयंसेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधिलगायतले एकै दिन रक्तदान गरेको बताउनुभयो ।
सो रक्तदान कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, राप्ती सोनारी गाउँपालिका –६ का अध्यक्ष लवराज खरेल, नेपालगन्ज एकीकृत भन्सार कार्यालयका प्रमुख करुणा चौधरी, नेपालगन्ज उपमहानगरपालिका –१० का स्वास्थ्य शाखा प्रमुख भागीराम चौधरी, नेपालगन्ज साइकल क्लवका अध्यक्ष समाजसेवी प्रदीप सापकोटा, पत्रकार शंकरप्रसाद खनाल, नियमित रक्तदाताहरु निरजमान श्रेष्ठ, खम्बप्रसाद पुन, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, साहित्यकार अस्फाक सङ्घर्ष, प्रल्हाद विश्वकर्मा, मधु बोगटीलगायत ५१ जनाले रक्तदान गर्नुभयो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जाडो याममा हरेक वर्ष रगत अभाव हुने गरेको जनाउँदै यसरी नै विभिन्न सङ्घ संस्था रक्तदान गर्नेहरुलाई आग्रह गर्ने गरिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय रगतको माग अति नै उच्च हुने गरेको र रक्त सञ्चार केन्द्रमा रगत अभाव हुने गरेकाले आवश्यक परेका बिरामीलाई रगत खोजीका लागि निकै सास्ती भोग्नु परेको बताउनुभयो ।