• ११ पुस २०८१, बिहिबार

‘रेमन्यान्ट्स’ ले जित्यो अवार्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा धनराज बार्कोटे निर्देशित चलचित्र रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला चलचित्रकर्मीको अवार्ड हात पार्नुभयो ।  ‘ब्ल्याक रेन इन माई आइज’ ले उत्कृष्ट लघु वृत्तचित्र अवार्ड जितेको छ । त्यस्तै सर्ट फिक्सनजतर्फ दी फस्र्ट फिल्मले अवार्ड जितेको छ ।

अवार्ड विजेतालाई प्रतिनिधि सभा सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गर्नुभयो । फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टु स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित अल वी इम्याजिन एज लाइटले जितेको छ ।

सामूहिक अधिकार नारासहित मङ्सिर २४ देखि चलचित्र बोर्ड र नेपाल पर्यटन बोर्डमा महोत्सव चलेको थियो । महोत्सवमा विभिन्न देशका ५३ चलचित्र  प्रदर्शन गरिएको थियो ।

महोत्सवअघि भारतका चर्चित चलचित्रकर्मी निलोतपल मजुम्दरले चारदिने कार्यशाला  सञ्चालन गर्नुभएको थियो । कार्यशालामा नेपालसहित बङ्गलादेश, भारत, पाकिस्तानलगायतका युवा चलचित्रकर्मी सहभागी थिए । महोत्सवको सुरुवातमा ‘अल वी इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन दी बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित महोत्सवमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो ।