गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २९ गते । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’ सहित १० नेपाली चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रूपान्तरण गरी ‘अर्काइभ’ गरिने बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दर्शकले रुचाएका र विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रूपान्तरण गरेर नयाँ प्रविधिमा ल्याउन सुरुवात गरेको बताउनुभयो । यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’ लाई ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि राखिएका छन् । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ । ‘डिजिटाइजेसन’ पछि १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ । “डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट सुरक्षित गरेर राखिएको छ ।