काठमाडौं, मङ्सिर २८ गते । ‘नदीनाला कसका ?’ विषयक दश दिने तस्बिर प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि फोटो सर्कलद्वारा विभिन्न अनुसन्धानकर्ता, फोटोग्राफर तथा कलाकारसँग सहकार्य गरेरे तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।
अनुसन्धानकर्ता कैलाश राईका अनुसार नेपालका विभिन्न दश वटा स्थानका कथाहरु तस्विर प्रदर्शनीमा प्रस्तुत गरिएका छन् ।
अनुसन्धानकर्ता राईले भन्नुभयो, “नेपालका विभिन्न ठाउँहरुमा आदिवासी समुदाय हुनुहुन्छ, माथि मुस्ताङको थकालीदेखि तराइमा बस्ने थारु, माझी, ताप्लेजुङको लिम्बु लगायतका समुदाय बसेको ठाउँमा विभिन्न विकासले कस्तो खालको असर पुर्याइरहेको छ ? भन्ने कुरा राम्रो आएको छ ।”
उहाँले प्रदर्शनीमा थकाली खानाको परिकारदेखि वातावरण कसरी मासिँदैछन् भन्ने लगायत खोला, नदीनालाबाट कसले बढी लाभ लिइरहेको छ भन्ने विषय तस्बिर प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । प्रदर्शनी पुस ७ गतेसम्म चल्नेछ ।