• ७ पुस २०८१, आइतबार

मार्टहरुमा बढ्यो चोरीका घटना

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर २८ गते । जिल्लाका मार्ट पसलमा चोरीका घटना बढेको छ ।  पछिल्लो दुई हप्तामा तीनवटा मार्टमा पाँच पटक चोरी भएको प्रहरीले जनाएको छ । सदरमुकाम कावासोतीमा रहेको फेमिली पोइन्ट मार्टमा तीन पटक चोरी भएको छ । 

फेमिली मार्टमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । दुई जना पक्राउ परेकै अवस्थामा सोही मार्टमा तेस्रो पटक चोरी भएको हो । त्यसकै कावासोतीकै बीएण्डबी र देवचुलीको मार्टमा पनि चोरी भएको प्रहरीले जनाएको छ । 

चोरले ताला फोडेर, जिप्सन तोडेर भित्र पसी नगद, महँगा मदिरा, पर्फुम र अन्य सामान चोर्ने गरेको प्रहरीले जनाएको छ । यसरी चोरीका घटना बढेपछि नवलपुर उद्योग वाणिज्य सङ्घले शान्ति सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । 

व्यावसायिक स्थलको सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई ज्ञापनपत्र बुझाएको नवलपुर उद्योग वाणिज्य सङ्घका महासचिव सागर पोख्रेलले बताउनुभयो ।

जिल्लाको सदरमुकाममा रहेका मार्टहरुमा हप्तैपिच्छे चोरी हुन थालेपछि व्यावसायिक सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको महासचिव पोख्रेलको भनाइ छ । सङ्घले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाई व्यासाय सञ्चालन गर्ने वातावरण निर्माण गरिदिन प्रशासनसँग आग्रह गरेको छ । पछिल्लो समय मार्टका साथसाथै घर फोड्ने र मोटरसाइकल चोर्ने घटना पनि बढिरहेका प्रहरीको भनाइ छ ।

आर्थिक अवस्था, विदेश पलायनजस्ता कारणले व्यापार व्यावसाय खस्कदै गएको तथा नारायणगढ–बुटवल सडकका कारणसमेत व्यवसायमा चहल पहल हुन नसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट करिव पाँचसय मिटरको दूरीमा पटक–पटक चोरी हुनुलाई व्यावसायीहरूले शान्ति सुरक्षाको प्रत्याभूति पाउन नसकेको बताएका छन् । 

दैनिकजसो हुने चोरीका घटनालाई नियन्त्रण गर्न रात्रीकालीन सुरक्षा व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न, रात्रीकालीन गस्ती बढाउन र व्यवसायीलाई सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गरीदिन प्रशासनसँग माग गरिएको छ ।

चोरले सबैभन्दा पहिले सीसी क्यामेराको हार्डडिस्क नियन्त्रणमा लिएर चोर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यायका प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।