• २८ मंसिर २०८१, शुक्रबार

निर्माण कम्पनीका कारण सेवाग्राहीलाई सास्ती

blog

अलपत्र परेको पालिकाको भवन । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, मङ्सिर २८ गते । बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न गर्ने समय दुई वर्षअघि नै सकिए पनि अझै सो भवन अधुरै रहेको छ । निर्माण कम्पनीको लापर्बाहीले भवन निर्माण कार्य अलपत्र परेको गाउँपालिकाले जनाएको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने सो भवन निर्माण कम्पनी महालक्ष्मी/जुगल बिल्डर्स जेभीको चरम ढिलासुस्ती तथा लापर्बाहीका कारण अझै पूरा भएको छैन । 

पटक पटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले भवन निर्माणको काम नगरिदिएका कारण पालिकाको सेवा प्रवाह वडा कार्यालयबाट गर्न बाध्य रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँका अनुसार साबिकको नरैनापुर गाविस कार्यालयबाट नरैनापुर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ । नयाँ भवन निर्माण भइसके पनि पेन्टिङ, फर्निचर र विद्युत् वायरिङलगायतको फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गरेकाले समस्या भइरहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएकाले काममा समस्या हुने गरेको आएको बताउनुभयो । महालक्ष्मी÷जुगल बिल्डर्स जेबीका इन्जिनियर प्रविन श्रेष्ठले २०७९ असोज ३१ गते सम्पन्न गर्ने गरी भएको सम्झौता विभिन्न कारणले २०८१ साल पूरा हुन लाग्दा पनि सम्पन्न हुन नसकेको बताउनुभयो ।

ठेक्का सम्झौता सकिए पनि ठेकेदार कम्पनीलाई पालिकाले तेस्रो पटक म्याद थप गरेर २०८० फागुन २९ गतेसम्म काम सम्पन्न गर्न अनुमति दिएको थियो । निर्माण कम्पनीको लापर्बाहीका कारण तेस्रो पटक म्याद थप भए पनि निर्माणाधीन भवन अलपत्र परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो, “ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिइसकेका छौँ, तीन महिनाभित्रै काम सम्पन्न नगरे म्याद थप नगरी ठेक्का रद्द गर्ने पनि भनेका छौँ ।” निर्माण कम्पनीका इन्जिनियर श्रेष्ठका अनुसार छ करोड ८० लाख ३१ हजार रुपियाँको लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण सुरु भएको थियो । गाउँपालिकाको निर्माणाधीन भवनको भौतिक प्रगति ८५ प्रतिशत देखिएको जनाउँदै भवन निर्माणसँगै ठेकेदार कम्पनीले हालसम्म चार करोड २८ लाख रुपियाँ भुक्तानी लिएको लेखा अधिकृत बस्नेतले बताउनुभयो ।