• २७ मंसिर २०८१, बिहिबार

एनपिएल

काठमाडौँलाई हराउँदै जनकपुर प्ले अफमा

blog

जनकपुरका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २७ गते । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।जनकपुर प्ले अफ पुग्ने पहिलो टोली समेत बनेको छ । 

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट आठ अङ्क छ । जनकपुरसँग पराजित काठमाडौँको पाँच खेलबाट चार अङ्क छ । काठमाडौँको प्ले अफ पुग्ने सम्भावना कायम छ । 

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५.५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन जोड्दै लक्ष्य भेट्टाएको हो । जनकपुरका लागि जेम्स निसमले २७ रन बनाउनुभयो ।

यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाउनुभयो । बलिङमा काठमाडौँका करण केसीले दुई तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरका सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाउनुभयो । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाउनुभयो ।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले तीन तीन विकेट लिनुभयो । ललित प्लेयर अफ दि म्याच हुनुभयो । मोहमद मोसिमले दुई तथा किशोर महतो र अरनिको यादवले एक एक विकेट झार्नुभयो । जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ ।

यस्तै काठमाडौँले पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बिहीबार नै भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको थियो ।