राजकुमार भट्टराई
खोटाङ, मङ्सिर २७ गते । खोटाङको रावाबेँसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौतासँगै बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज भएको छ। गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेर बैंक खाता पनि वडाबाटै खोलिदिएपछि नागरिकहरुलाई सहज भएको हो ।
गाउँपालिकाबाट छनोट भएका पालिकास्तरीय एवं वडाबाट छनोट भएका वडास्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर गाउँपालिकाले सम्झौता गरिदिएको हो । चालु आर्थिक वर्ष २०८१-०८२ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताउनुभयो ।
वडा नम्बर १ कुभिण्डेमा ९ वटा, २ खार्पामा १७ वटा, ३ लामिडाँडामा २९ वटा, ४ डुम्रे धारापानीमा ९ वटा, ५ दुवेकोलमा ११ र ६ हौँचुरमा ७ वटा योजना वडा कार्यालयमा पुगेर सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो । वडा नम्बर ३ लामिडाँडामा प्रभु बैंक र अन्य ५ वटा वडामा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा उपभोक्ता समितिको खाता पनि वडाबाटै खोलिएको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष पनि पालिकाले वडामै पुगेर योजना सम्झौता गरेको थियो । यो वर्ष अझ बैंक खाता पनि वडामै खुलेपछि धेरै सहज भएको भन्दै नागरिक हर्षित भएका छन् । योजना सम्झौता गर्न र बैंक खाता खोल्न गाउँपालिकाको कार्यालय र बैंक २-३ दिन धाउनुपर्ने झन्झट उपभोक्तता समितिलाई थियो। अहिले वडाबाटै उक्त काम एकै दिनमा भएपछि समयसँगै पैसाको पनि बचत भएको नागरिकको भनाइ छ ।
गाउँपालिकाले नागरिकलाई दिने सेवा सहज र सरल बनाउन वडामै योजना सम्झौताको कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो ।