• २७ मंसिर २०८१, बिहिबार

दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २६ गते । कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।

छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा उहाँहरुको निधन भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–३ का ४० वर्षीय चौधरी धनगढीबाट हसुलियातर्फ जाँदै गर्दा उहाँले चलाएको सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लबमा पछाडिबाट ठोक्किएको थियो ।

धनगढी उपमहानगरपालिका–१४ बी गाउँका अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लपमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डल्लबसहित चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौधरी आधारभूत स्वास्थ्य केन्द्र मनाउँमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

यस्तै, गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गमा भएको दुर्घटनामा हास्य कलाकार ३० वर्षीय हिक्मत महराको ज्यान गएको हाे । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ निवासी उहाँले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । 

धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ५४ वर्षका नन्दसिंह बोहराले चलाएको सुपप्र ०१–००१ क २०६० नम्बरको खाली ट्रकको ठक्करबाट घाइते महराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । 

महरा कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उत्कृष्ट चारमा पुगेर बाहिरिनुभएको थियो । ट्रकसहित बोहरलाई प्रहरीले पक्राउ गरेको छ। 

यस्तै, टीकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडक खण्डमा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भ पल्टिँटा पछाडि सवार टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको ज्यान गएको छ । मोटरसाइकल चालक रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।