• १३ साउन २०८१, आइतबार

गणतन्त्र दिवस तीन दिन मनाइने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ६ गते  । सरकारले गणतन्त्र दिवस, २०७९ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, प्रधान सेनापति, विशिष्ठ श्रेणीका राजपत्राङ्कित कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित मूल समारोह समिति गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेकोे बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा जेठ १५ गते औपचारिक मूल समारोह आयोजना गरिने समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालयले राष्ट्रिय झन्डा एवं ब्यानर सजाउनुका साथै आम नागरिकलाई साँझ दीपावली गर्न अनुरोध गरेको छ । जेठ १५ गते दिउँसो हेलिकप्टरबाट काठमाडौँमा पुष्पवृष्टि र झन्डा प्रदर्शन गरिनेछ । 

सोही दिन साँझ सबैले घर, कार्यालय एवं सार्वजनिक स्थलमा दीपावली गर्ने कार्यक्रम तय भएको छ । जेठ १६ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गरिनेछ । विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झन्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय भएको मूल समारोह समितिले जनाएको छ । 

गणतन्त्र दिवसका दिन साँझ दीपावली गर्न आम  नागरिकलाई अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोगहरूमा पठाउन निर्देशन दिइएको छ । 

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले बिहीबार मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरूसँगको छलफलमा १६औँ गणतन्त्र दिवसका अवसरमा प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गर्नुभयो । उहाँले सञ्चार माध्यमलाई मुलुकमा गणतन्त्र घोषणा भएपछि प्राप्त उपलब्धिबारे आम जनतालाई बुझाउने सामग्री प्रकाशन प्रसारण गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “यथार्थपरक ढङ्गमा गणतन्त्रपछि भएका उपलब्धिहरूलाई सञ्चार माध्यममा समय र स्थान उपलब्ध गराउने तयारी गर्नुहोस् । समालोचनात्मक सामग्री दिनुहोस् । सिर्जनात्मक सामग्री तयार गरेर आम सर्वसाधारणलाई यसको महìव बुझाउनुहोस् ।” 

बैठकमा गोरखापत्र दैनिक, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपालका उच्च पदाधिकारीहरूले आआफ्ना निकायहरूले गरेको तयारीबारे जानकारी गराउनुभएको थियो ।